गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ५ गते । सङ्घीय संसद्का उपसभामुख इन्दिरा रानाले आफू अमेरिका भ्रमणमा जानुभएको बारे संसद्लाई जानकारी नदिएको सभामुख देवराज घिमिरेले बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसकी रमा कोइरालाले उपसभामुख रानाको अमेरिका भ्रमणको औचित्य र विषयबारे प्रश्न उठाउनुभयो । कोइरालाले उपसभामुख संसद्को प्रतिनिधित्व गरेर अमेरिका गएको वा गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेर गएको भन्ने प्रश्न उठाउनुभयो । कांग्रेस प्रतिनिधिहरूले बुधबारको कार्यव्यवस्था तथा परामर्श समितिमा पनि भ्रमणका विषयमा सभामुखसँग जिज्ञासा राखेका थिए ।
कांग्रेस सांसद रामहरि खतिवडाले कार्यव्यवस्थामा राख्नुभएको उक्त जिज्ञासामा सभामुख देवराज घिमिरेले संसद्को प्रतिनिधित्वका रूपमा उपसभामुख नगएको र अन्य विषयमा जानकारी नभएको बताउनुभएको थियो । राना साउन ३० मा अमेरिका जानुभएको थियो ।
बैठकमा उपसभामुख इन्दिरा रानालाई पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव दर्ताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले हस्ताक्षर सङ्कलन गरेको विषयमा प्रतिपक्ष दलहरूले भने आपत्ति जनाए । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा नेकपा (एकीकृत समाजवादी) ले आपत्ति जनाएका हुन् । प्रतिनिधि सभाको प्रारम्भमा नै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सत्तारूढ दुई दलले व्यवस्थामाथि नै अपमान गरेको टिप्पणी गर्नुभयो ।
परियारले लोकतन्त्रको विरासत धानेका भन्ने दलहरूबाट उपसभामुखमाथि गरेको व्यवहार निन्दनीय रहेको बताउनुभयो । उहाँले दुई ठुला दलको कदम लोकतन्त्रका लागि खतरा भएको समेत टिप्पणी गर्नुभयो । यस्तो प्रवृत्तिबारे सचेत रहन अन्य दलहरूलाई उहाँले आग्रह गर्नुभयो । राप्रपा सांसद रोशन कार्कीले संवैधानिक परिषद्को नियुक्ति सहज पार्न सत्तापक्षले उपसभामुख हटाउने प्रपञ्च गरेको टिप्पणी गर्नुभयो । कार्कीले निकटलाई नियुक्ति दिन परिषद्को निर्णय सहज बनाउनेतर्फ उपसभामुख हटाउने कदम केन्द्रित रहेको पनि आरोप लगाउनुभयो । यस्तै एकीकृत समाजवादीका शेरबहादुर कुँवरले पनि उपसभामुख हटाउनेबारे सत्तापक्षबाट भएको कदमको विरोध गर्नुभयो ।