साहारा लिम्बू
फुङ्लिङ, भदौ ५ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् ।
अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ ।
यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो ।
भेटी गणनाका लागि ८ जना कर्मचारी समितिले परिचालन गरेको छ । हरेक दिन पाथीभरा मन्दिरबाट कर्मचारीले भेटी सङ्कलन गरी माथिल्लो फेदीमा भण्डारण गर्ने गरेका छन् । नगद भेटी गणनाको कार्य सम्पन्न हुनासाथ सिक्का गणनाको कार्य थालनी गरेको हो ।
यहाँबाट सिक्का गणना गरी विभिन्न बैंक तथा जिल्ला बाहिरका ठुल्ठुला डिपार्टमेन्टहरुमा सटही गरिँदै आएको समितिको भनाइ छ । भारतलगायतका मुलुकका सिक्का तथा नोट सटहीमा भने समितिलाई सकस परिरहेको छ ।