कृष्णबहादुर धामी
दार्चुला, भदौ ५ गते । दार्चुलामा जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
बिहीबार बिहान ८ः३० बजे जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ गइरहेको ग. ३ च. ३३५१ रातो नम्बर प्लेटको जिप दुर्घटनामा परेको उहाँले बताउनभुयो ।
दुर्घटनामा परी नौगाड गाउँपालिका–३ का २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, वडा नम्बर ४ का २६ वर्षीय मोहन ठगुन्ना, मार्मा गाउँपालिका वडा नम्बर ५ का १७ वर्षीया अप्सरा महता र नौगाड गाउँपालिका–४ का ३५ वर्षीय उमेश ठगुन्ना गम्भीर घाइते भएको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीय उमेशसिंह ठगुन्ना, १२ वर्षीय राम महत र श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीय लक्ष्मी कार्की सामान्य घाइते हुनुभएको छ ।
गाडी चालक लाकेन्द्रसिंह ठगुन्नाले चलाएको गाडी चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेको बताइएको छ । गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।