• ५ भदौ २०८२, बिहिबार

मादीनदीको पुल निर्माण तीव्र गतिमा

blog

मादी नदीमा बन्दै गरेको चार लेनको पुल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ ५ गते ।
नेपालमै पहिलो पटक तनहुँमा मादीनदीमाथि निर्माणाधीन चारलेनको पुलको काम तीव्र रुपमा भइरहेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत चारलेनको पुल द्रुत निर्माण भइरहेको हो । यस पुलले व्यास नगरपालिका– ४ र ५ जोड्नेछ । पुलको काम हालसम्म ७१ प्रतिशत सकिएको र तदारुकताका साथ काम भइरहेको मुग्लिन– पोखरा सडक योजना पूर्व खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

तीन सय १५ मिटर लामो यस पुलका छ वटा स्पान हुनेछन् । सन् २०२२ अगष्ट ११ मा पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गमा सबैभन्दा लामो ‘आर्क डिजाइन’ को उक्त पुल नेपालमै पहिलो पटक चारलेनको हुने पण्डेले बताउनुभयो ।

हाल नदीमाथि रहेको दुईलेनको तीन सय ७० मिटर लामो पुल छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो । निर्माण कम्पनी जेडआइष्ट अन्नक जेभीका प्रतिनिधि साइड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले काम छिटो सम्पन्न गर्न एक सय जना कामदार दैनिक खटिएको जानकारी दिनुभयो । आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुलमा कलात्मक आर्क डिजाइन गरिएको छ ।

यातायात आवागमनको प्रयोगको लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नुपर्छ भनेर कलात्मक डिजाइन गरिएको हो । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा चार लेनको सडक बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । पूर्वीखण्डमा ८५ प्रतिशत काम पूरा भएको सूचना अधिकारी पाण्डे बताउनहुन्छ ।