• ५ भदौ २०८२, बिहिबार

पोखरा र बन्दीपुरबिच पर्यटक प्रवर्धनका लागि हातेमालो

blog

बन्दीपुरमा गरिएको कार्यक्रमका सहभागीहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ ५ गते ।
पर्यटकीय राजधानी पोखरा र पहाडकी रानी उपनाम चिनिएको तनहुँमा रहेको बन्दीपुरबीच एकअर्काको पर्यटन प्रवर्धनका लागि हातेमालो गरिएको छ । वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइरहेको दुवै पालिका र पर्यटन व्यवसायीबिच हातेमालो गरिएको हो ।

पर्यटन सहकार्यलाई मजबुत बनाउने सम्बन्धमा मङ्गलबार बन्दीपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बन्दीपुर भ्रमण– २०२५ र पोखरा भ्रमण वर्ष– २०२५ सफल पार्न टुर प्याकेजमा एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्‍याउन सहकार्य गर्न सहमत भएका छन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई र बन्दीपुर भ्रमण वर्षका संयोजक बैस नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबिचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा छलफल गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँगको पर्यटकीय साझेदारीले बन्दीपुरमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो पोखरा आउने पर्यटकलाई बन्दीपुर भित्र्याउन र यहाँ आएका पर्यटकलाई पोखरामा पठाएर बसाई लम्ब्याउन हातेमालो गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक गुरुङले बताउनुभयो । एकापसका गन्तव्यको पर्यटकीय साझेदारीका लागि अगुवाइ पोखराले लिनुपर्ने बताउँदै सामूहिक प्रयासले हामी सबैलाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले एकापसमा गरिने सहकार्यले दिगो पर्यटन विकासलाई महत्त्वपूर्ण सहयोग पुर्‍याउँने हुँदा बन्दीपुरमा अन्तरक्रिया गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले एकापसको पर्यटकीय सहकार्यले दुवै गन्तव्य लाभान्वित हुने बताउनुभयो ।

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सदस्यसचिव एवम् महानगरपालिका आर्थिक विकास महाशाखाप्रमुख मनहर कडरियाले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार संस्थाहरू पनि लगानीका लागि इच्छुक भएको बताउनुभयो ।