सन्तोष दहित
दाङ, भदौ ५ गते । लागुऔषध दुर्व्यसन नियन्त्रण र साइबर सुरक्षासम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम लिएर दाङ प्रहरीले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूसँग निरन्तर अन्तरक्रिया गर्दै आएको छ ।
समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत घोराही उपमहानगरपालिकाका विभिन्न विद्यालयमा प्रहरीको टोलीले सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको हो ।
यसै क्रममा घोराही–२ रामपुरस्थित गङ्गा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले लागू औषध दुर्व्यसनका कारण समाजमा देखिने आपराधिक प्रवृत्ति, बालबालिका दुर्व्यसनमा फस्न सक्ने अवस्था र कारण, साथै त्यसबाट बच्ने उपायबारे जानकारी दिनुभयो ।
उहाँले लागुऔषध अपराधको अवस्था, कानुनी प्रावधान, लागुऔषध नियन्त्रणमा विद्यार्थीहरूको भूमिका, सामाजिक सञ्जालको दुरुपयोगका कारण देखापर्ने समस्या, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी नियन्त्रण र सडक सुरक्षा लगायत विषयमा समेत प्रशिक्षण दिनुभएको थियो ।
प्रहरीले विद्यालयमै पुगेर बालबालिकालाई दुर्व्यसनबाट जोगिने उपाय, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कता तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको जनाएको छ ।