तनहुँ समाचारदाता
तनहुँ, भदौ ५ गते । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन तनहुँको एक सामुदायिक विद्यालयमा सबै जिम्मेवारी महिला शिक्षकलाई सुम्पिएको छ । भानु नगरपालिका–१२, कवाजितस्थित राष्ट्रिय आधारभूत विद्यालयको जिम्मेवारी महिलालाई मात्रै दिइएको हो ।
यस विद्यालयमा प्रधानाध्यापकमा सम्झना कुँवर, सहायक प्रधानाध्यापकमा सरिता अछामी, शिक्षकहरूमा श्यामप्यारी चौधरी, पूर्णिमा घर्ती, उमा अधिकारी क्षेत्री, शकुन्तला अधिकारी, तारा गोदार हुनुहुन्छ । कार्यालय सहयोगीमा सावित्रा भुजेल हुनुहुन्छ ।
विद्यालय केही न केही परिवर्तन हुन्छ भनी महिलालाई मात्रै जिम्मेवारी सुम्पिएको वडा सदस्य शान्ताकुमारी मिजार लम्सालले बताउनुभयो । सन्तान थोरै जन्माउने र सुविधाको खोजीमा सहर जाने क्रम बढेपछि गाउँको विद्यालय बन्द हुने स्थितिमा पुग्न थालेपछि महिलाको नेतृत्वमा गुणस्तर चाँडै वृद्धिको अपेक्षामा जिम्मेवारी सुम्पिएको उहाँले सुनाउनुभयो । लम्सालले भन्नुभयो, “पुरुषले भन्दा महिला बढी गम्भीर हुने र बालबालिका पनि खुसी हुने भएकाले जिम्मेवारी दिइएको हो, गुणस्तर सुधार हुँदै गएकाले खुसी लागेको छ ।” हाल शैक्षिक गुणस्तर सुधार हुँदै गएको उहाँको भनाइ छ ।
सोही वडामा रहेको मिर्लुङ बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक कुशलचन्द्र अधिकारीले महिलाले मात्रै नेतृत्व लिएसँगै गुणस्तर सुधार हुँदै गएकाले विद्यार्थीको सङ्ख्या बढ्दै जान थालेको बताउनुभयो । अधिकारीले बताउनुभयो, “शैक्षिक गुणस्तर सुधार गरेर महिला काममा अब्बल हुन्छन् भन्ने उदाहरण यस विद्यालयले पेस गरेको छ ।” बालबालिकाको दिवा खाजाका लागि स्थानीय उत्पादन दिई आफ्नो फर्मबाट सहुलियत दिने गरेको उहाँले जानकारी दिनुभयो ।
विसं १९९६ सालमा स्थापना भएको यस विद्यालय बालविकासदेखि कक्षा आठसम्म पढाइ हुन्छ । हाल ४५ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । निजी विद्यालयमा पढाउन सहरमा जान नपरोस् भनेर शैक्षिक गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गरिएको प्रधानाध्यापक कुँवर बताउनहुन्छ । प्रत्येक वर्ष घट्दै जाने गरेकामा यस वर्ष चार जना विद्यार्थी बढाउन सफल भएको प्रधानाध्यापक कुँवरले जानकारी दिनुभयो । अधिकांश दलित विद्यार्थीले अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।