नेपाली पत्रकारिताको धरोहरका रूपमा १२४ वर्षको इतिहास बनाइसकेको गोरखापत्रको इतिहास पत्रकारिता जगत्कै लागि महत्वपूर्ण र गरिमामय रहेको कुरामा सायदै दुईमत होला ।
निरङ्कुश र कठोर शासन मानिएको राणाकालीन समयमा उदारमना श्री ३ देवशमशेरको समयमा विसं १९५८ वैशाख २४ गते पहिलो अङ्क प्रकाशित भएर पत्रकारिताको जग बसाउने गोरखापत्र आजसम्म पनि त्यही जगको आधार लिएर निरन्तर प्रकाशनमा आइरहेको छ । यहाँसम्मको यात्रामा गोरखापत्रले खेप्नु परेका अनेकौँ आरोहअवरोहको कथा पनि त्यत्तिकै उल्लेख्य छन् । भन्नेले त सहजै भनिदिन्छन् गोरखापत्रले सत्ताको ताबेदारी गर्दै आयो र गरिरहेको छ । बाहिरबाट हेर्नेले सहजै भनिदिए जस्तो पक्कै पनि गोरखापत्र होइन । गोरखापत्रले भाषाको सेवा मात्र गरेन यसको उत्थानमा पनि त्यत्तिकै महत्वपूर्ण योगदान दियो र दिँदै आएको छ । साहित्यको इतिहास लेख्दा गोरखापत्रले दिएको योगदान कसैले छुटाउन सक्दैन । इतिहासको कुरा गरौँ, राजनीतिको कुरा गरौँ जता फर्के पनि गोरखापत्र उल्लेख्य बन्यो र बनेको छ । समय समयमा फेरिएको राजनीतिक व्यवस्था र राजनीतिक नेतृत्वमा रहेकाले देखाएको दम्भ र तिनको कमजोरीले बेलाबखत गोरखापत्रले बाटो नबिराएको पनि होइन, यसलाई अपवादका रूपमा लिने हो भने गोरखापत्र सिङ्गो मुलुकको इतिहासको साक्षी बनेको जिउँदो दस्ताबेज हो । इतिहासको सवा सय वर्ष कोरिसकेको गोरखापत्रलाई राजनीतिसँग जोडेर यसको अवमूल्यन गर्नु भनेको देश, काल र परिस्थितिलाई राम्ररी अध्ययन नगरिनु हो जस्तो लाग्छ ।
गोरखापत्रका आरम्भिक अङ्कदेखि नै छापिँदै आएका विज्ञापन वा आफ्नै दुःखेसो हेर्ने–पढ्ने हो भने पनि साना दुःखले आज्र्याको प्राप्ति होइन गोरखापत्र । बेलाबखत राजनीतिका कथित जान्ने सुन्नेले गोरखापत्रको महत्व, इतिहास र यसको गरिमाको छेउ पुच्छर थाहा नपाएर यसलाई प्रयोग गर्ने सोच अभिव्यक्त गरेको सुनिन्छ । गोरखापत्र सुधार्ने, पठनीय बनाउने, यसलाई निरन्तर गर्ने र पाठकप्रिय बनाउने, काम केवल यससँग सम्बन्धित सम्पादक, प्रकाशक, व्यवस्थापक र पाठक, सहयोगी मनले गर्ने हो । मञ्चमा उभिएर भाषण गर्नु भनेको ‘यी त सब भन्ने कुरा न हुन्’ भन्ने गीतको बोल जस्ता मात्र हुन् । नारायण गोपालले यसै गाएका रहेनछन्, ‘म जे छु ठिकै छु बिथोल्न नआउ...’
गोरखापत्रको घाउ कहाँ दुख्छ त्यो उसैलाई थाहा होला । बिथोल्न खोज्नेहरू त क्षणिक हुन्, मात्र समयावधिका ।
विसं १९५८ को वैशाख २४ गते साप्ताहिक रूपमा प्रकाशन थालिएको गोरखापत्रले दैनिक हुन २०१७ सालको फागुन ७ गते पर्खनु पर्यो । यसअघि २००० सालको असोज २९ गते अर्धसाप्ताहिक र २००३ साल पुस ११ गतेदेखि साताको तीन पटक सोमबार, बुधबार र शुक्रबार प्रकाशित हुन थालेको देखिन्छ । २०१९ सालमा दैनिक हुँदै शनिवारीय परिशिष्टाङ्कको प्रकाशनको सोच बनाएको गोरखापत्रले त्यतिबेलादेखिको सपना साकार पार्न अर्को २८ महिना पर्खनु पर्यो ।
साहित्यका विविध रचना प्रकाशनका लागि त्यतिबेला सीमित मात्रामा थिए साहित्यिक पत्रिका । ‘शारदा’, ‘प्रगति’, ‘रूपरेखा’, ‘रचना’ आदि साहित्यिक पत्रिकाले आआफ्नो स्थानबाट विशेष गरी साहित्यको क्षेत्रमा उल्लेख्य योगदान दिएको समयमा गोरखापत्रले शनिवारीयको प्रकाशन गरेर यसमा थप टेवा पुर्यायो र अविच्छिन्न राखेको पनि छ त्यसलाई ।
त्यस्तो समयमा विसं २०१९ को असार ९ गतेदेखि गोरखापत्र दैनिकमा नियमित रूपमा शनिवारीय परिशिष्टाङ्क प्रकाशन हुन थाल्यो । त्यसो त यसअघि नै विसं १९९८ को भदौ १७ गते पहिलो विशेषाङ्कका रूपमा उदयाङ्क प्रकाशित गर्ने गोरखापत्रले २००२ सालको पुस ११ गते जुद्धशमशेरको जन्मोत्सवका अवसरमा पहिलो पटक जन्मोत्सव विशेषाङ्क प्रकाशित गरिसकेको अभिलेख छ । सुप्रसिद्ध साहित्यकार एवं कलाकार बालकृष्ण समको नेतृत्वमा विसं २०१२ को मार्ग २५ गते मानव अधिकार दिवस विशेषाङ्क प्रकाशित गरेको थियो । गोरखापत्रका पहिलो प्रधान सम्पादक एवं सुप्रसिद्ध साहित्यकार एवं कलाकार बालकृष्ण समको नेतृत्वमा ट्याबलोइड आकारको उक्त विशेषाङ्कको अन्तिम पृष्ठमा प्रधान सम्पादक सम र मेनेजर प्रेमराज शर्माको अध्यक्षतामा उल्लेख गरिएको छ । गोरखापत्रका केही अतिरिक्ताङ्क र विशेषाङ्क प्रकाशन गरिसकेको गोरखापत्रले शनिवारीय परिशिष्टाङ्क प्रकाशन थालेपछि पनि आजसम्म पनि बेलाबखत विशेषाङ्क प्रकाशित गर्दै आएको छ । ‘शनिवारीय परिशिष्टाङ्कको प्रकाशनपूर्व २०१९ सालको असार ४ गते पहिलो पृष्ठमा र असार ५ गते अन्तिम पृष्ठमा हाम्रो शनिवारीय परिशिष्टाङ्क यथाशीघ्र प्रकाशित हुँदै छ ।’
बेहोराको विज्ञापन प्रकाशित भएको देखिन्छ र कहानी, कविता, लेख र केही स्थायी स्तम्भ रहने छन् भन्दै लेखक कलाकारसँग लेख रचनाका लागि आग्रह गरिएको देखिन्छ ।
विज्ञापन र यसका अङ्कहरू हेर्दा गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कले सुरुका दिनदेखि नै साहित्यलाई विशेष महत्त्व र स्थान दिएको देखिन्छ । शनिवारीय परिशिष्टाङ्क प्रकाशित भएको दिनको अर्थात् असार ९ गतेको गोरखापत्रमा शनिवारीय परिशिष्टाङ्कका बारेमा हाम्रो शनिवासरीय परिशिष्टाङ्क शीर्षकमा सम्पादकीय नै लेखेर यसको थालनी गरेको छ,
‘हामीले हाम्रो शनिवारीय परिशिष्टाङ्क हाम्रा विज्ञ पाठकसमक्ष प्रस्तुत गरेका छौँ । यसरी हामीले अलिकता पनि बढ्ता सेवा गर्न पाएकोमा हामीलाई प्रसन्नता लागेको छ । गोरखापत्र दैनिक भएदेखि नै परिशिष्टाङ्क पनि प्रकाशित गर्ने हाम्रो धेरै दिनदेखि विचार थियो, तर कतिपय कारणले गर्दा हामीले आफ्नो विचारलाई क्रियात्मक रूप दिन सकेका थिएनौँ । आज हाम्रो यो इच्छा पूर्ण भएको छ । प्रत्येक दिनको नियमित अङ्कमा स्थानाभावले गर्दा हामीले जीवनका सबै पक्षलाई अँगाल्ने खालका लेख प्रस्तुत गर्न सकेका थिएनौँ तर अब यस परिशिष्टाङ्कको प्रकाशनले त्यो अभाव पनि हट्न गएको छ । आज हाम्रो जीवनमा साहित्य, कला–संस्कृति, विज्ञान आदिको पनि उत्तिकै ठुलो महत्व छ । स्वयम् राष्ट्रनायक श्री ५ महाराजधिराज सरकार आज देशको राजनीतिक–आर्थिक समुत्थानका लागि मात्र प्रयत्नशील होइबक्सन्न बरु साहित्य, कला तथा संस्कृतिको उत्थान र संवर्धनप्रति पनि मौसूफ सरकारबाट बराबर ठुलो अभिरुचि दर्साइबक्सेको छ । अतः राष्ट्रको चतुर्विक उन्नयनको आजको यस समयमा यस परिशिष्टाङ्कले पनि केही हैँसे–होस्टे अवश्य पनि गर्न सक्ने छ भन्ने हाम्रो विश्वास छ ।’ ‘अतः यस स्तम्भबाट हामी देशका सबै विचारक–साहित्यिक, कलाकारसँग पनि यस अङ्कलाई सफल पार्न सहयोग गर्न आह्वान गर्दछौँ ।
हामीले चाहे जतिकै यस पहिलो अङ्कलाई सर्वाङ्गीपूर्ण बनाउन सकेनौँ । उपयुक्त रचना नपाएकाले यस अङ्कमा कथा दिन सकेका छैनौँ । साजसज्जा पनि उत्तिको आकर्षक हुन सकेन तर हाम्रो दृढ विश्वास छ, हाम्रा विज्ञ साहित्यक र पाठकबाट हामीले सहयोग पाएको खण्डमा हाम्रा त्रुटि समयका साथ सुध्रिँदै जाने छन् र हामी यस परिशिष्टाङ्कलाई सही अर्थमा सर्वपयोगी बनाउन सक्षम हुने छौँ ।
यस परिशिष्टाङ्कलाई प्रकाशमा ल्याउन राष्ट्रिय निर्देशन मन्त्रीज्यू, प्रचार विभागका डाइरेक्टरज्यू र अन्य सम्बन्धित सबैबाट जुन प्रेरणा पाएका छौँ, त्यसका लागि उहाँहरू सबैप्रति हामी आभारी छौँ । यता केही समयदेखि भइरहेको गोरखापत्रको विकासको क्रममा यो एउटा नौलो कदम चाल्न पाएकोमा पुनः एक पल्ट आफ्नो प्रसन्नता व्यक्त गर्दछौँ । यस अङ्कलाई समयको साथ विकास गर्दै जान सबैसँग सहयोगको प्रार्थना गर्दछौँ ।’
त्यतिबेला पाँच पैसा मूल्य रहेको गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कको पहिलो अङ्कमा पहिलो पेजमा सङ्क्षिप्त विश्लेषण अन्तर्गत दिव्यकुमारले लेखेको ‘काव्यको परिभाषा’ शीर्षकको लेख रहेको छ । यसपछि गोविन्दलाल श्रेष्ठको ‘आजको व्यवस्था र श्री ५ महेन्द्र’ शीर्षकको लेख, ‘पञ्चायती व्यवस्था र नेपालीको कर्तव्य’ शीर्षकमा माधवलाल श्रेष्ठको लेख रहेको छ । २०१७ सालको राजनीतिक घटनाको डेढ वर्षको समयमै प्रकाशमा आएको शनिवारीय परिशिष्टाङ्कमा त्यतिबेला राजनीतिका कुराभन्दा साहित्यलाई महìवका साथ प्रस्तुत गरेको देखिनु चानचुने कुरा होइन । यस्तै विकलको ‘नेपाली कवितालाई राजाको देन’, भीमनिधि तिवारीको ‘गोरखा पुग्नासाथ’ शीर्षकको कविता, ‘ध्वज छ छवि दिने’ शीर्षकको कृष्णप्रसाद वस्तीको कविता, यस्तै माधवप्रसाद भट्टराईको ‘यस्तै छ नेपाल’ शीर्षकको कविता, सूर्यलालको ‘हाम्रो बाटो’ लेख समेटिएको देखिन्छ । पहिलो अङ्कबाट राजहंशको नाममा नयाँ कृति स्तम्भ सुरु गरेर पुस्तक समीक्षालाई ठाउँ दिएको मात्र होइन साप्ताहिक राशिफल पनि सुरुवाती दिनदेखि नै प्रकाशित भएको देखिन्छ । पुस्तक समीक्षा दिँदा लामो समयसम्म राजहंशको नाममा दिइँदै आएको थियो तर पछि सम्बन्धित समीक्षककै नाम दिने गरेको देखियो र यो क्रम अझै छ । यद्यपि राशिफलको सन्दर्भमा यसअघिका दैनिक अङ्कमै राशिफल प्रकाशित भएको देखिन्छ । विज्ञान जगत्, साप्ताहिक घटनाक्रम, सहयोगीका विचार जस्ता स्तम्भ पनि पढ्न पाइन्छ ।
यसपछि असार २३ गते प्रकाशनमा आएको शनिवारीय परिशिष्टाङ्कको दोस्रो अङ्कमा टेकराज जोशीको खानेकुरा खाने किन र कसरी, हाम्रो नेपालमा पञ्चायती राज, राजकुमार, जीवनभित्रको लुकेको मनाङको एक झलक, अफ्रिकाका नवस्वाधीन देशः रुवान्डा र उरुन्डी, ललितजङ्ग सिजापतिको नेपाल, नेपालका राजा र ललितकला लेख पढ्न पाइन्छ । नयाँ कृति, सहयोगीको विचार, कविता, साप्ताहिक राशिफलले निरन्तरता पाएको देखिन्छ । यस अङ्कको आकर्षणका रूपमा भने विकलले लेखेको अनि ‘प्रकाश फैलिन्छ कहानी’ शीर्षकमा छापिएको छ । कथाकारको नाममा विकल मात्र उल्लेख भएकाले यो कसको कथा हो ? भन्ने जिज्ञासा उठ्नु स्वाभाविकै हो । अन्य कतिपय विधामा पनि यसरी लेखकको पूरा नाम नदिइने गरेको पाइन्छ ।
बेलाबखत राजनीतिका विषयलाई मुख्य लेख बनाउने शनिवारीय परिशिष्टाङ्कको तेस्रो अङ्कमा श्यामप्रसाद उपाध्यायको ‘पार्टीविहीन प्रजातन्त्र’ शीर्षकको लेख मूल लेखका रूपमा प्रकाशित भएको देखिन्छ । अरू सामग्रीमा बखतबहादुर चित्रकारको ‘आजको नेपालमा डकुमेन्ट्री फिल्मको आवश्यकता, खानी र मानिस, १३२ वर्षको फ्रेन्च शासनपछि मुक्त स्वाधीन अल्जेरिया (सञ्जयको नाममा) आत्रेयको नाममा रहेको आत्मवृत्ति–एक विचार’ रहेको छ । यसै अङ्कमा कहानीमा गुरुजीको एकादशी व्रत (गौतम वज्र) लगायत विज्ञान वार्ता, खेतीपाती, नयाँ कृति आदि प्रकाशित भएको देखिन्छ ।
भदौ महिनाको २ गते ‘नेपालमा कागत उद्योग’ शीर्षकको शिवप्रसाद शर्माको लेख मूल भएर प्रकाशित भएको छ । नवराज चालिसेको आर्थिक योजना : यसको देन र कमी, यदुनन्दन केसीको हाम्रो उन्नतिमा पूर्वपश्चिम मूलबाटो, नेपालमा बागवानीको विकास जस्ता लेख हेर्दा शनिवारीय परिशिष्टाङ्कले साहित्यलगायत कला, संस्कृति, विज्ञान, कृषि, विकास, अर्थ, उद्योग, स्वास्थ्य, राजनीति आदि समग्र विषय समेट्न खोजेको कुरा यसका केही अङ्कको अध्ययनपछि थाहा हुन्छ । यसो भनौँ यसले सम्पादकीयमा लेखेजस्तै ‘प्रत्येक दिनको नियमित अङ्कमा स्थानाभावले गर्दा हामीले जीवनका सबै पक्षलाई अँगाल्ने खालका लेख प्रस्तुत गर्न सकेका थिएनौँ तर अब यस परिशिष्टाङ्कको प्रकाशनले त्यो अभाव पनि हट्न गएको छ । आज हाम्रो जीवनमा साहित्य, कला–संस्कृति, विज्ञान आदिको पनि उत्तिकै ठुलो महत्व छ ।’ परिशिष्टाङ्कमा विविध पक्षलाई प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ ।
भदौ ९ गतेको शनिवारीय पनि यस्तै विविध रचना समेटिएर प्रकाशमा आएको देखिन्छ । भदौ १६ गतेदेखि भने अलि भिन्न स्वरूपमा देखा पर्छ गोरखापत्रको शनिवारीय परिशिष्टाङ्क । ट्याबलोइड साइजमा शनिवारीय प्रकाशमा आउन थालेको पाइन्छ । यो क्रम विसं २०२० को साउन ५ गतेसम्म कायम रहे पनि साउन १२ देखि पुनः पुरानै आकारमा प्रकाशन हुन थालेको देखिन्छ । यहाँनिर उल्लेख गर्नुपर्ने कुरा के रहेको छ भने २०१९ सालको असोज २५ सम्म पाँच पैसा मोल भएको गोरखापत्रले २६ देखि शनिवारीय परिशिष्टाङ्क प्रकाशन भएको अङ्कलाई दोब्बर मूल्य कायम गरेको देखिन्छ । अर्थात् १० पैसा तर मूल्य बढाएको कुरा कतै उल्लेख गरिएको पाइँदैन । सिरानमा साबिकको मूल्य राखेको स्थानमा पाँचको स्थानमा १० पैसा लेखिएको मात्र पाइन्छ । कात्तिक १८ देखि यसको मोल दोब्बर बढेर शनिवारीय परिशिष्टाङ्कको २० पैसा, नियमित अङ्कको १० पैसा पुगेको छ ।
गोरखापत्र वा शनिवारीय परिशिष्टाङ्कमा प्रकाशित लेख रचनालाई पारिश्रमिक दिइन्थ्यो वा दिइँदैनथ्यो त्यो कुरा कतै उल्लेख भएको पाइँदैन । विसं २०१९ सालको असोज २० गते प्रकाशित ‘सहयोग गर्नोस्’ भनी लेखकवर्गसँग लेख रचनाको आह्वान गरेको विज्ञापनमा ‘प्रकाशित लेखका निम्ति यथायोग्य पुरस्कार पनि टक्य्राउने छौँ’–प्र.सं लेख्नुबाट थाहा हुन्छ शनिवारीय परिशिष्टाङ्कमा प्रकाशित लेख रचनालाई पारिश्रमिक दिइने व्यवस्था यसै वर्षबाट थालनी भएको हो कि भन्ने ।
थालनीदेखि नाम चलेका लेखक साहित्यकार सँगसँगै विविध क्षेत्रका विज्ञ एवं राजनीतिमा लागेका समेतका लेख रचना समेट्दै गएको शनिवारीय परिशिष्टाङ्कमा केही लुकेका नामका पनि रचना पढ्न पाइन्छ । अघिल्ला केही वर्षका मात्र गोरखापत्र शनिवारीय परिशिष्टाङ्क ससर्ती हेर्दा यसमा विश्व साहित्यलाई पनि अनुवादका माध्यमबाट सक्दो हरेक अङ्कमा दिइने प्रयास गरेको देखिन्छ । कहिलेकाहीँ विश्वसाहित्यका लेखक साहित्यकारका बारेमा त कहिले पाश्चात्य र पूर्वीय साहित्य र सिद्धान्तका बारेमा पनि पठनीय सामग्री सम्प्रेषण गरेको पाइन्छ ।
सुरुवाती दिनमा कथाको अभावमा कथा छाप्न नपाएकोमा चुक चुक गर्ने गोरखापत्रको साउन २३ गतेको परिशिष्टाङ्कमा विकलको नाममा कहानी अन्तर्गत ‘अनि प्रकाश फैलिन्छ’ पढ्न पाइन्छ । भदौ १६ गतेसम्म आइपुग्दा
सिंहबहादुर मोक्तानको ‘दशैँ’ शीर्षकको लघुकथा पनि समेट्न भ्याइसकेको छ गोरखापत्रले । कात्तिक २५ गतेको गोरखापत्र–शनिवारीय परिशिष्टाङ्कमा विशेष सूचना प्रकाशित गर्दै कथाका लागि आह्वान नै गरिएको छ यसरी, ‘यो स्तम्भमा १ देखि २ सम्म रोचक कथाकुथुङ्ग्रीहरू प्रस्तुत गर्ने हाम्रो अठोट छ । कथामा लोककथा, पौराणिक कथा र सामाजिक तथा मनोवैज्ञानिक घतिला नेपाली कथाहरू पठाउन स्वदेश र प्रवासका सबै कथाकार महानुभावहरूसँग हाम्रो अनुरोध छ । साथै अरू भाषाका लोककथा तथा कथाहरू पनि स्वागत गरिन्छन् ।
‘यसपालि युरोपका प्रसिद्ध कथाकार मो पांसाको अनूदित कथा पाठकका समक्ष प्रस्तुत छ’ –सम्पादक ।
यसबाटै के कुरा स्पष्ट हुन्छ भने गोरखापत्रले कवितालाई जत्तिकै स्थान कथालाई दिन खोजेको देखिन्छ । साथै परिशिष्टाङ्कमा अनुवाद कथाका साथै नेपालभित्रकै अरू भाषाका कथा लोककथालाई पनि समेट्न खोजेको देखिन्छ । साउन ३० गतेको परिशिष्टाङ्कको नियमित स्तम्भ केटाकेटीका लागिमा ‘दुई बहादुर शत्रु’ शीर्षकको नाटक विकलको नाममा पढ्न पाइन्छ, भदौ २३ सम्म आइपुग्दा त बेञ्जु शर्माको ‘दस रुपियाँको नोट’ नाटक छापिइसकेको छ । यस्तै असोज २० गते रामराजा राणाद्वारा लिखित ‘नबेच मलाई’ (एकाङ्की) देखिनु अनि परिशिष्टाङ्कले त्यतिबेलै कथा–लघुकथा, नाटक, एकाङ्की भनेर प्रकाशन गर्दै आएको बुझ्न सकिन्छ । २०१९ को असोज ६ गतेको परिशिष्टाङ्कमा हाम्रा तरुण चित्रकार अन्तर्गत विजय थापाका केही कलाकृति छापिएपछि यसले कला जगत्लाई पनि समेट्न थालेको प्रस्ट हुछ । सोही वर्ष लोकबहादुर विष्टको भाषा विज्ञान लेख समावेश गरेर यसलाई पनि अघि बढाएको देखिन्छ । २०१९ सालको माघ १३ गते भ्रमण साहित्य भनेर डोरबहादुर विष्टको ‘थाकखोलाको यात्रा’ छाप्ने परिशिष्टाङ्कले २०२० सालको १८ गते कृष्ण जोशीको ‘चैनपुर जाँदा’ यात्रा संस्मरण छापिएसँगै परिशिष्टाङ्कमा यात्रा संस्मरण छाप्ने क्रम सुरु भएको बुझ्न सकिन्छ । विश्व साहित्यलाई नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने काममा बढी सक्रियता ईश्वरमान रञ्जितको देखिन्छ ।
कात्तिक २५ गतेको परिशिष्टाङ्कमा २०१९/२० सालका समग्र परिशिष्टाङ्क हेर्दा सुरुको अङ्कदेखि निरन्तर कवितालाई स्थान दिँदै आएको गोरखापत्रमा नीरविक्रम प्यासी, भीमनिधि तिवारी, महानन्द सापकोटा, ऋषभदेव शर्मा, केशवप्रसाद लामिछाने, धर्मराज थापा, गोपाल पाँडे ‘असीम’, शारदाप्रसाद शर्मा, लीलासिंह कर्मा, कोइली देवी, वासुदेव उपाध्याय ढकाल, कृष्णप्रसाद वस्ती, माधवप्रसाद भट्टराई, चिरञ्जीवी झा, टीकाभूषण दाहाल, शिवगोपाल रिसाल, कृष्णबम मल्ल, पद्मराज सरोज, पुष्पराज रेग्मी, हेमराज सापकोटा, भैरव अर्याल, कुमारबहादुर जोशी, प्रेमविनोद नन्दन, पुरुषोत्तम बस्नेत, पुष्पलाल उपाध्याय (तेजपुर, आसाम) सुन्दरप्रसाद शाह दुःखी, विनोदप्रसाद धिताल, भरतराज पन्त, कञ्चन पुडासैनी, एम बिबी शाह, नगेन्द्र शर्मा, श्रीधर खनाल, केशवराज शर्मा, बद्रीप्रसाद आचार्य, कान्तालाल प्रभात, हेमचन्द्र पोखरेल, परशु प्रधान, लक्ष्मीशङ्करलाल श्रेष्ठ, मदनदेव भट्टराई, धु्रवकृष्ण दीप, रामराज पौड्याल, सिद्धिचरण श्रेष्ठ, जनकप्रसाद हुमागाईं, पुष्कर लोहनी, गोविन्द भट्ट, शरदकुमार भट्टराई, रोहिणीबल्लभ शर्मा, इन्दुकान्त शर्मा, बलराम अर्याल, अष्टसागर श्रेष्ठ, विष्णु नवीन, गणेशप्रसाद भण्डारी, ऋषिराम न्यौपाने, वासुदेव रिजाल, केदारनाथ चालिसे आदिका कविता, गीत देख्न पाइन्छ । यस्तै श्री अर्याल (भैरव अर्याल ?) देवकी नानी, कुमारी तारा तुलाचन, केपी शर्मा, श्रीकुमारी पूर्णिमा, सन्त केशव पोखरा, जयप्रसाद बराल शर्मा, रामनाथ शर्मा ‘चट्टान’, डा. इन्द्रमान वैद्य, गोविन्दकृष्ण श्रेष्ठ, श्रीमती प्रतिभा रिसाल, सन्त केशव, टीकाकुमार शाह जस्ता नाममा प्रकाशित कविता पनि बेलाबखत पढ्न पाइन्छ । कहिले तीन कविता भनेर तीन जना कविका कवितालाई एकसाथ प्रकाशित गर्ने परिशिष्टाङ्कले कहिले चर सिकारु कविहरू भनेर पनि कविता प्रकाशित गरेको देख्न पाइन्छ । २०२० सालको साउन ५ गतेको शनिवारीय परिशिष्टाङ्कमा त १० कविलाई एकसाथ समेटेको छ, १० छरिता कविता शीर्षकमा । साथै यसका बारेमा सम्पादकीय धारणा पनि समेटेको देखिन्छ, ‘नेपाली काव्य–साहित्य दिनप्रति नयाँ नयाँ भेष लिँदै प्रगतिको उकालो उक्लँदै छ । छरितोपनलाई पनि आधुनिक कविताका विशेषतामध्ये एक मानिएको छ । त्यसैले नवोदित नेपाली कविहरूले पनि कतिपय यस्ता कविता लेखेका छन् जो शब्द र पङ्क्तिका दृष्टिबाट साह्रै छरिता र भावको गहनताको दृष्टिले साहै्र घतिला लाग्छन् । नमुनाका लागि यहाँ विभिन्न १० नयाँ कविका दसोटा कविता प्रस्तुत छन्, जो छोटा भए पनि आफ–आफैँमा पूर्ण छन्’ –सम्पादक
यसरी समेटिने कविहरूमा वासु शशि, भूपि शेरचन, कालीप्रसाद रिजाल, आनन्ददेव भट्ट, श्रीमती पारिजात, भैरव अर्याल, रत्नशमशेर थापा, टेकबहादुर नवीन, शङ्कर लामिछाने र कुलमणि देवकोटा रहेका छन् ।
कथा र कविताका क्षेत्रमा बेला बेला आह्वान गरेर हुन्छ कि बढीभन्दा बढी समेट्न र विविधता दिन परिशिष्टाङ्कले मेहनत गरेको देखिन्छ ।
विविध रचनामा गोविन्दप्रसाद लोहनी, ललितजङ्ग सिजापति, बखतबहादुर चित्रकार, नवराज चालिसे, यदुनन्दन केसी, रामचन्द्र शर्मा न्यौपाने, यादवप्रसाद पन्त, डा. अञ्जनीकुमार शर्मा, डा. तुलसी गिरी, अव्रmुनरसिंह राणा, पद्मप्रसाद भट्टराई, ढुण्डीराज भण्डारी, अनन्त पौड्याल, गोकुलप्रसाद पोखरेल, जितबहादुर मानन्धर, जनकलाल शर्मा, पुरु रिसाल, भैरव रिसाल, हृदयचन्द्रसिंह प्रधान, करुणाकर वैद्य, पुण्यरत्न वज्राचार्य, विश्वबन्धु थापा, रत्नध्वज जोशी, सरोजकुमार शाक्य, कृष्ण जोशी, शरद्चन्द्र शर्मा, अम्बिकाप्रसाद अधिकारी, डोरबहादुर विष्ट, हुतराम वैद्य, नरनारायणशमशेर राणा, विष्णुगोपाल रिसाल, हवलदार देवीप्रसाद पौडेल, चूडामणि बन्धु वासु पासा, नेत्रबहादुर थापा, सोमनाथ घिमिरे, सूर्यमोहन अधिकारी, वासु रिमाल ‘यात्री’, नित्यराज पाण्डे, रामनिवास पाण्डेय, दीनबन्धु अर्याल, लोकराज बराल, चितरञ्जन नेपाली, पुष्पनाथ शर्मा, भीमदेव भट्ट, मोहनमान सैंजू, गोकुलप्रसाद शर्मा, गौरीशङ्कर अग्रवाल, ताना शर्मा, नरसिंहभक्त तुलाचन, आदित्यमान श्रेष्ठ, सुश्री प्रभा बस्नेत, चूडानाथ भट्टराय आदिका विविध रचना समेटिएका छन् ।
डिल्लीराम तिमसिनाको ‘नेपाली सङ्गीतको एक झल्को’, बालकृष्ण समको ‘नृत्य’ र नाटक, केशव दुवाडीको ‘चित्रकला’ र नेपालमा त्यसको गतिविधि, लैनसिंह बाङदेलको ‘अजन्ताको भित्ति–चित्र’ र ‘एलोराको मूर्ति’, गणेशराज शर्माको ‘बेस्ट ल्यान्ड : एक सङ्क्षिप्त परिचय’, कलरिजको ‘कल्पनावाद, पाश्चात्य समीक्षा–सिद्धान्त र तिनका व्यापार’, अरस्तुको ‘केथार्सिस सिद्धान्त’, बाबुराम आचार्यको ‘नेपालको सांस्कृतिक परम्परा’, योगी नरहरिनाथको ‘भूगोल, इतिहास र संस्कृति’, रामप्रसाद राय थारूको ‘सङ्गीतमा सामाजिकता’, सरिता ढकालको ‘विराटनगर–धरानको साहित्य’, सरोजकुमार शाक्यको ‘नयाँ मुलुकी ऐन’, शास्त्रदत्त पन्तको ‘हाम्रा समाजका शिशु र स्वास्थ्य’, रामनिवास पाण्डेयको ‘नेपालमा पुरातात्त्विक अध्ययन एवं अनुसन्धानको रूपरेखा’, कमल धितालको ‘नेपालमा घरेलु उद्योग’, चन्द्रकान्त शर्माको ‘खानी र देश’, सोमनाथ घिमिरेको ‘शिवरात्रि’, कृष्णबम मल्लको ‘वैदेशिक व्यापारको वृद्धिको आवश्यकता’, नरेश कौशिकको ‘पर्यटनको केन्द्र नेपाल’, सुन्दरप्रसाद शाह दुःखीको ‘नेपालको राष्ट्रिय झण्डा’, श्रीधर खनालको ‘राष्ट्रिय निर्देशन र प्रजातन्त्र’, राजेश्वर देवकोटाको ‘पूर्वपश्चिम राजमार्गको महत्व दर अनिवार्यता’, गङ्गाविक्रम सिजापतिको ‘हाम्रो वन कता ?’ टोपबहादुर सिंहको ‘रिट–उत्पत्ति तथा विकास’, कामेश्वर झाको ‘सहकारिता आन्दोलन एक अध्ययन’, बालकृष्ण पोखरेलको ‘नेपाली र क्षेत्रीय भाषाहरूको पारम्परिक सम्बन्ध’, डा. ज्वालाराज पाण्डेको ‘केटाकेटीहरूको सरुवा रोग र त्यसबाट बच्ने उपाय’, महानन्द सापकोटाको ‘धातु अलिङ्गी हुन्छन्’, माधवप्रसाद शर्माको नेपालको ‘एसियालाई देन’, नगेन्द्र शर्माको ‘प्रवासी भनेको को ?’ आदि लेखले परिशिष्टाङ्कले समेटेको विविध विषयलाई सङ्केत गर्छ । प्रायः यस्ता लेखमा लेखको परिचय पनि दिने क्रममा कतै माननीय उपाध्यक्ष, कामु जनरल मेनेजर, नेपाल विद्युत् विभाग, एमए, बिए, शिक्षक दरबार स्कुल, हेल्थ असिस्टेन्ट–पूर्व–२ नं., मेनेजर नेपाल विद्युत् कर्पोरेसन, सिनियर लेप्रोलोजिस्ट, विद्यार्थी त्रिचन्द्र कलेज, सचिव अञ्चल पञ्चायत धवलागिरि, डाइरेक्टर खानी विभाग, सञ्चालक नेपाल आयुर्वेदीय सङ्ग्रहालय आदि उल्लेख गरेकोबाटै प्रस्ट हुन्छ विविध क्षेत्रका ज्ञाता, विज्ञ अनि विद्यार्थीवर्गका समेत लेख रचना शनिवारीय परिशिष्टाङ्कमा प्रकाशन हुने गरेको कुरा ।
यो सानो अध्ययनले यतिसम्म भन्न सकिन्छ विगत ६३ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कले सकेसम्म विविधता पस्कने र विविध क्षेत्रका पाठकको ध्यान केन्द्रित गर्न खोजेको देखिन्छ । गोरखापत्र संस्थानमा बिताएका तीन दशकभन्दा बढी समय र त्यसमा पनि शनिवारीय परिशिष्टाङ्कमा बितेका दुई दशकभन्दा बढीको अनुभवले के भन्छ भने गोरखापत्रको शनिवारीय परिशिष्टाङ्कले आफूलाई फड्को मार्ने नाममा, परिवर्तनको नाममा वा भनौँ व्यापारको नाममा तडकभडकभन्दा पाठकलाई काम लाग्ने, अध्ययन अनुसन्धानलाई उपयोगी हुने र विविध उमेर समूहका पाठकका लागि उपयुक्त हुने सामग्री प्रस्तुत गर्न केन्द्रित बन्दै आयो । लेखक साहित्यकारका सिर्जना र मनोरञ्जन, खेलकुद, विज्ञान प्रविधिका कुरालाई पनि यसले आत्मसात् गर्दै आएको छ । बेलाबखत आफ्नो नाम नै परिवर्तन हुने रोगबाट भने यसले पनि आफ्नो पहिचान परिवर्तन गर्दै आउनु परेको पनि देखिन्छ । कहिले शनिवारीय परिशिष्टाङ्क त कहिले शनिवारीय अनि कहिले शनिवासरीय त कहिले के...। केही समय शनिबार परिशिष्टाङ्कमा संयोजकको नाम पनि उल्लेख गर्ने गरिएको थियो तर त्यो क्रम धेरै समय रहेन । गोरखापत्रले शनिवारीय परिशिष्टाङ्कको प्रकाशनको करिब तीन दशकपछि रमाइलो शुक्रबारका रूपमा परिशिष्टाङ्क प्रकाशन गरेको थियो । केही वर्षसम्म चलेको यसको प्रकाशन बिचमा रोकिएर पुनः प्रकाशित हुन थालेको थियो तर उसले पनि निरन्तरता पाउन सकेन । शनिवारीय परिशिष्टाङ्क भने निरन्तर प्रकाशमा आइरहेको छ । बेलाबखत सन्दर्भ प्रसङ्गले अन्य अङ्क वा विशेषाङ्क प्रकाशन गर्नुपर्दा गोरखापत्र संस्थानले प्रकाशकका हैसियतले शनिवारीय परिशिष्टाङ्कको प्रकाशन नगरेको पनि देखिन्छ । बेलाबखतका कुराबाहेक शनिवारीय परिशिष्टाङ्कको यात्रा विगत ६३ वर्षदेखि चलिआएको छ । यो यात्रामा यसले समेटेको विधा, यसले दिएको योगदान अनि यसले अघि बढाएका लेखक, साहित्यकार र स्रष्टाको सम्मान र कदरका लागि यसको योगदानका बारेमा बृहत् इतिहास लेखिन बाँकी नै छ । यो सानो आलेखमा साङ्केतिक रूपमा यसको विगत र यसले समेटेका विषयलाई पर्गेल्ने जमर्को मात्र गरिएको हो ।
लेखक मधुपर्कका पूर्वसम्पादक हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ शनिवारीय परिशिष्टाङ्कको ६३ वर्ष ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।