हरिप्रसाद सुवेदी
पुतलीबजार (स्याङ्जा), भदौ ६ गते । सुन्तलाका पारखीले यसको ताजा स्वाद लिन सामान्यतः कात्तिक–मङ्सिर नै कुर्नु पर्छ तर स्याङ्जामा भने साउनदेखि फागुनसम्मै ताजा सुन्तला पाउन सकिन्छ । पछिल्लो समय स्याङ्जामा बेमौसमी विदेशी जातका सुन्तलाको खेती गर्ने कृषकको आकर्षण बढ्दो छ । नेपालको मध्यपहाडी भेगमा परम्परागत सुन्तला खेतीको उत्पादन प्रायः कात्तिकदेखि पुस महिनासम्म हुने गर्छ । स्याङ्जामा भने प्राविधिक पहुँच, नयाँ प्रजातिको प्रवेश र कृषकको जागरुकताले गर्दा अब बेमौसमी खेतीबाट साउनदेखि फागुनसम्मै उत्पादन लिन सकिने भएको हो ।
जिल्लामा पछिल्लो केही वर्षयता जापानिज ‘उन्सु’, पाकिस्तानी ‘किन्नु’ र मुन्तला जातका सुन्तलाको खेती सुरु भएको छ । यी जातका सुन्तला परम्परागत सुन्तलाको तुलनामा छिटो फुल्ने, लामो समयसम्म बोटमा रहने र स्वाद पनि उस्तै मिठो हुने भएका कारण कृषक यी प्रजातिका सुन्तलातर्फ आकर्षित भएका हुन् । अगौटे जातको सुन्तलामा किसानको आकर्षण बढेसँगै वर्षमा करिब आठ महिना सुन्तला पाइने भएपछि स्याङ्जामा बाँझो रहेको जमिनसमेत सदुपयोग हुन थालेको छ । पातलो बोक्रा र गुलियो स्वाद भएका कारण यो सुन्तला नेपाली बजारमा पाइने स्थानीय सुन्तलाभन्दा फरक नहुने पुतलीबजार–१३, मायाटारीका कृषक बोधराज अर्याल बताउनुहुन्छ । स्थानीय जातको सुन्तला ६० रुपियाँ प्रतिकेजी बिक्री हुने गरेको भए पनि बेमौसमी जातका सुन्तलाको मूल्य दोब्बर हुने कृषक अर्यालको भनाइ छ । अर्याल भन्नुहुन्छ, “सुन्तलाको भण्डारण गर्ने प्राविधिक ज्ञान कृषकमा भयो भने हामी बाह्रै महिना सुन्तला बिक्री गर्न सक्छौँ ।”
अर्यालको बगैँचाबाट बर्सेनि १४ लाखभन्दा बढी मूल्यको मौसमी तथा बेमौसमी सुन्तला निर्यात हुने गरेको छ । अहिले स्याङ्जाको पुतलीबजार, भिरकोट, अर्जुनचौपारीलगायतका पालिकामा उन्सु, किन्नु जातको सुन्तला खेती हुने गरेको छ । क्षेत्र विस्तारको कार्यक्रमले जिल्लाभर तीन हजार ३५० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका सुन्तला खेती हुँदै आएको छ । यहाँबाट बर्सेनि एक अर्ब रुपियाँभन्दा बढीको सुन्तला निर्यात हुने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख अजय अधिकारीले बताउनुभयो ।
विसं २०७३ मा स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याइएको ‘सुन्तला सुपरजोन’ ले सुन्तला किसानलाई माथि उकास्न विभिन्न कार्यक्रम गरेको थियो ।
अहिले यो कार्यालयको नाम परिवर्तन भएर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जा नामकरण गरिएको छ । नाम परिवर्तन भए पनि कार्यालयले सुन्तला किसानलाई प्रविधिमा पहुँच, तालिम, प्राविधिक सहयोग तथा अनुदान दिएर प्रोत्साहन जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको कार्यान्वयन एकाइ स्याङ्जाका प्राविधिक सहायक इन्द्रप्रसाद सुवेदीले बताउनुहुन्छ ।
सुवेदीका अनुसार अहिले बगैँचा सुधार, नयाँ क्षेत्र विस्तार, गुणस्तरीय बिरुवा उत्पादन र किसानको क्षमता वृद्धिमा विशेष ध्यान दिइएको छ । उहाँले भन्नुभयो, “सुन्तला खेतीलाई व्यावसायिक बनाउने योजना अन्तर्गत अब हामीले भण्डारण, प्याकेजिङ, प्रशोधन तथा बजारीकरणमा समेत ध्यान दिएका छौँ ।”
नेपालको फलफूल तथा तरकारी क्षेत्रमा ठुलो समस्या भनेको भण्डारण र वितरण प्रणालीको कमजोरी हो । फलफूलको जीवनकाल छोटो हुने भएकाले उत्पादन भएको फल तत्काल बिक्री नभएमा नोक्सान हुन्छ तर स्याङ्जामा यो समस्या समाधान गर्नका लागि विसं २०७४ बाट सञ्चालनमा आएको स्याङ्जा शीतभण्डार सहकारी संस्थाले ठुलो भूमिका खेलेको छ । यस कोल्ड स्टोरको सहयोगले कृषकले अब आफूले उत्पादन गरेका सुन्तला केही हप्ता वा महिनासम्म भण्डारण गर्न सक्छन् ।
जिल्लामा केही स्थानीय तहले पनि सुन्तला भण्डारण गर्ने उद्देश्यले साना च्याम्बर जडान गरेर शीतकक्षको स्थापना गरेका छन् । केही समय भण्डारण गरेको सुन्तलाले राम्रो मूल्य दिने भएपछि यसको प्रत्यक्ष फाइदा किसानले पाउने गरेका छन् । स्याङ्जामा बेमौसमी सुन्तला खेती केवल एक कृषि अभ्यास मात्र बनेको छैन, यो आर्थिक, सामाजिक र व्यावसायिक सफलताको नमुना बन्न थालेको छ । बेमौसमी जात प्रयोग गरेर नयाँ प्रविधि भित्रिनु, सुपरजोनमार्फत सहयोग पाउनु र कोल्ड स्टोर जस्ता पूर्वाधार विकास हुनुले कृषि क्षेत्रको रूपान्तरण भएको छ ।