चितवन समाचारदाता
चितवन, भदौ ६ गते । बजेट अभावमा रोकिएको रिग्दीखोलाको पुल चालु आर्थिक वर्षमा बन्ने भएको छ । पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने चितवनको शक्तिखोर–फिस्लिङ सडकखण्डको रिग्दीखोलामा पुल निर्माण नहँुदा यो सडक सञ्चालनमा कठिनाइ भएको थियो ।
चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ माघ १६ गते सम्झौता भएर पनि पर्याप्त बजेट निकासा नभएपछि पुलका दुई वटा पिल्लर मात्र निर्माण भएको थियो । पुल निर्माणका लागि सङ्घीय सरकारबाट एक करोड ७० लाख रुपियाँ बजेट निकासा भएपछि चालु आवभित्र निर्माण पूरा भई बाटो खुलेको हो । गोरखापत्र दैनिकले ‘बजेट अभावमा पुल निर्माण अलपत्र’ भनेर समाचार प्रकाशित गरेको थियो ।
पूर्वाधार विकास कार्यालय भरतपुरका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार चौधरीले बजेट निकासाको अभावमा काम रोकिएकोमा अब बजेट आइसकेको बताउनुभयो । “निर्माण पूरा हुने गरी निर्माण सम्झौता अनुसार बजेट निकासा भएकाले अब पुल निर्माणले गति लिने छ,” चौधरीले भन्नुभयो, “बर्सातमा काम हुँदैन, दसैँलगत्तै निर्माण सुरु हुने छ ।”
पुल निर्माणको सम्झौता अनुसार २०८२ जेठ ३० गते सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने उल्लेख गरिएको थियो तर सङ्घीय ससर्त अनुदानमार्फत आउने बजेटबाट निर्माण थालिएको पुलको काम रकम अभावकै कारण हुन सकेको थिएन । ३५ मिटर लम्बाइको पुल दोहोरो सवारीसाधन सञ्चालन गर्न मिल्ने ७.४० मिटर चौडाइको रहेको छ । तीन करोड ८८ लाख ११ हजार ६९५ रुपियाँको लागतमा निर्माण गर्ने गरी रायमाझी लुम्बिनी जेभीले ठेक्का पारेको थियो ।
प्रत्येक वर्ष थोरै रकम निकासा गर्ने भएका कारण काम त्यही अनुसार हुँदै आएको थियो । गत वर्ष एकातर्फको पिल्लर निर्माण भएको थियो । अहिले अर्कातर्फको पिल्लर निर्माण सम्पन्न भएको छ । ठेक्काबमोजिम पर्याप्त बजेट निकासा नभएपछि निर्माण सुस्त भएको थियो ।
समयमा काम सम्पन्न नभएपछि म्याद थपको प्रव्रिmया अगाडि बढेको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । अहिलेसम्म निर्माण कम्पनीले काम गरेबापत एक करोड ४४ लाख ९९ हजार ४२५ रुपियाँ प्राप्त गरिसकेको छ । बाँकी काम पूरा भएपछि पाउने गरी बजेट आइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर टाँडीबाट शक्तिखोर, उपरदाङगढी हुँदै रिग्दीखोला तरेर पृथ्वी राजमार्ग अन्तर्गत फिस्लिङ निस्कने ग्रामीण कृषि सडक निर्माण गरिएको छ । यो सडकको शक्तिखोला र रिग्दीखोलामा पुल निर्माण गर्नुपर्ने रहेको थियो । शक्तिखोलामा पुल निर्माण पूरा भएर सञ्चालनमा आइसकेको छ । रिग्दीखोलाको पुल निर्माण पूरा भएपछि साना तथा मझौला सवारीसाधन मुग्लिङ–नारायणगढ सडकको विकल्पका रूपमा यो सडक प्रयोगमा आउने छ । ४५ किलोमिटरको यो सडकमा कालोपत्रे भइसकेको छ । पुल निर्माण हुने स्थान र पहिरो जाने सम्भावित केही स्थानमा मात्र कालोपत्रे गर्न बाँकी रहेको छ ।
सौराहाको बाघमारा दोभानमा निर्माण भएको पुलको रकम अझै निर्माण कम्पनीले भुक्तानी नपाएको पूर्वाधार विकास कार्यालय प्रमुख चौधरीले बताउनुभयो । ५० मिटर लम्बाइको पुल सात करोड ८७ लाख ४७ हजार ५४० रुपियाँमा ठेक्का भएको थियो । निर्माण कम्पनीले २०८१ पुस ५ गते निर्माण पूरा भएर हस्तान्तरण गरिसके पनि अहिलेसम्म भुक्तानी नभएको कार्यालय प्रमुख चौधरीले जानकारी दिनुभयो । यसै आवभित्र रकम पाउनका लागि निकासा गर्न पहल भइराखेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले एक करोड सात लाख रुपियाँ लिन बाँकी छ ।