• ६ भदौ २०८२, शुक्रबार

बढ्दै डेड्गु सङ्क्रमण, गण्डकी प्रदेशमा सबैभन्दा बढी

blog

काठमाडौँ, भदौ ६ गते । पछिल्लो समय डेड्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २११ जनामा डेड्गु पुष्टि भएको छ । 

महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेड्गु सङ्क्रमित हुनेको सङ्ख्या तीनहजार २४७ पुगेको छ । सोही अवसरमा सङ्क्रमितमध्ये दुई जना को मृत्यु भएको दाहालले जानकारी दिनुभयो । 

दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेड्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेड्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।

गण्डकी प्रदेशमा ९१४ जनामा डेड्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६७५, कोशीमा ५६८, लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेड्गु पुष्टि भएको छ । 

चिकित्सकका अनुसार डेड्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेड्गुका प्रमुख लक्षण हुन्।

त्योबाहेक उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।