अर्जुन कार्की
काठेखोला (बागलुङ), भदौ ६ गते । बागलुङको गलकोट नगरपालिकामा भएको विद्यार्थी सवार भ्यान दुर्घटनामा गम्भीर भएका दुई जना घाइतेलाई उपचारका लागि पोखरा रिफर गरिएको छ ।
विद्यार्थी बोकेर हरिचौरबाट हटियातर्फ जाँदैगरेको गलकोट बहुमुखी क्याम्पसको इभी भ्यान शुक्रबार बिहान गलकोट नगरपालिका –५ जोइकुटीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका सवारी चालक गलकोट नगरपालिका १ का २५ वर्षीय मोहनसिंह सुनार र विद्यार्थी गलकोट नगरपालिका –५ की १८ वर्षीया सुस्मिता विकलाई उपचारका लागि पोखरा रिफर गरिएको हो । गलकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक मनबहादुर कार्कीले बताउनुभयो ।
दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । प्रनि कार्कीले घाइते विद्यार्थीहरु वडा ५ का १८ वर्षीया प्रमिला विक, वडा नं. ११ का १८ वर्षीय जीवन खत्री, वडा नं. ८ का १८ वर्षीया मुना गौतम, १९ वर्षीया अनिता क्षेत्री र वडा नं. ९ का १८ वर्षीया सुनीता सापकोटाको गलकोट नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । घाइतेहरुको खुट्टा, हात, ढाड र मुखमा चोट लागेको छ । भ्यान सडकदेखि ७ मिटर तल खसेको थियो ।