• ६ भदौ २०८२, शुक्रबार

सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँः परराष्ट्रमन्त्री डा. देउवा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदे परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा।

काठमाडौँ, भदौ ६ गते। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। 

युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नम्बर ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले जलवायु परिवर्तनका कारण नेपाल अकल्पनीय समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो।  

उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा परेको छ। हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था पनि छ। त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने अवस्था छ।”

नेपालले केही महिनाअघि पनि सगरमाथा संवादको आयोजना गरेर २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उहाँले दिनुभयो। 

मन्त्री डा. राणाले नेपालका तर्फबाट आफूले पहिलो पटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएर नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रुपमा उठाएको स्मरण गर्दै अब कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्डसहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि लाग्ने पनि जानकारी गराउनुभयो।    

अहिले देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न र भोलिको पुस्ताको भविष्यलाई सुरक्षित बनाइराख्न मुलुकको युवा पुस्ताको भूमिका अझ महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। यस विषयमा थप अध्ययन अनुसन्धान गर्न, वातावरण संरक्षणका कार्यक्रममा सहभागिता जनाउन र नेपालको प्राकृतिक क्षेत्र र जलसम्पदाको संरक्षण र सम्वर्धनका क्षेत्रमा अहिल्यैदेखि लाग्न उहाँले युवा पुस्तालाई सुझाव  दिनुभयो।