काठमाडौँ, भदौ ६ गते । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग एक रनले पराजित भएको छ ।
सेमफिाइनलमा पुग्नका लागि जित्ने पर्ने खेलमा नेपाल अन्तिम ओभरमा कमजोर बन्यो । यस हारसँगै ११ टोली सहभागी प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।
डार्विनको मरारा क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा जितका लागि एक सय ४५ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेटको एक सय ४३ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गर्नुभएको हो । यस्तै दीपेन्द्रसिंह ऐरीले ४१, आशिफ शेखले २७ र लोकेश बमले १० रन बनाउनुभयो । बलिङमा पाकिस्तानका मोहमद वासिम र फैसल अकरमले दुई दुई तथा मोहमद सलमानले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पापिस्तानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो । पाकिस्तानका लागि इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन बनाउँदा मेहरान मुमताजले १० रन थप्नुभयो ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पार्नुभयो । नेपालका लागि चार ओभर बलिङ गर्दा सन्दीप लामिछाने २८ रन दिएर विकेटबिहीन बन्नुभयो ।
नेपालले यसअघि पाँच खेलमा तीन हार र दुई जित निकालेको थियो । नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
यस्तै नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ र पाँचौँ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको जित निकालेको थियो ।