राममणि दाहाल
मकवानपुर, भदौ ६ गते । शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा मार्ग अवरुद्ध भएका छन् ।
त्रिभुवन राजपथ र कान्ति लोकपथ बाढी र पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका १ स्थित बाघझोरामा गिट्टी बालुवासहितको बाढी आएर सडकअवरुद्ध बनेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार बाघझोरामा सडक अवरुद्ध भएको हो ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो आउँदा कान्ति लोकपथ अवरुद्ध बनेको छ । पहिरो खसेर बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।
बाटो खुलाउन सडक विभागसँग समन्वय भइरहेको र पानी पर्नेक्रम नरोकिएकोले तत्काल सडक खुलाउन समस्या भएको अर्यालको भनाइ छ ।