गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ६ गते । खर्च स्रोत अपुग भएर ऋणमार्फत व्यवस्थापन गर्नुपर्ने सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना खर्चभन्दा करिब दोब्बर आम्दानी गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा सरकारले तीन शीर्षकमा ४६ अर्ब ३० करोड रुपियाँ खर्च गरेको छ । जुन लक्ष्यको २.३६ प्रतिशत हो । यस वर्ष १९ खर्ब ६४ अर्ब ११ करोड खर्च गर्ने लक्ष्य लिएको सरकारले साउनमा केवल ४६ अर्ब ३० करोड रुपियाँ मात्र खर्च गरेको हो ।
कुल खर्चमध्ये सबैभन्दा धेरै वित्तीय व्यवस्थातर्फ २७ अर्ब १० करोड रुपियाँ खर्च गरेको छ । यस शीर्षकको धेरै खर्च ऋणको सावाँ भुक्तानीमा हुने गर्छ । त्यसपछि चालुतर्फ १८ अर्ब ४७ अर्ब रुपियाँ खर्च भएको छ । पुँजीगत खर्च भने केवल ७२ करोड ७३ लाख रुपियाँ मात्र भएको कार्यालयले जनाएको छ ।
साउनमा सरकारले ८४ अर्ब ४६ करोड रुपियाँ आम्दानी गरेको छ । खर्चको तुलनामा आम्दानी ३८ अर्ब १६ करोड रुपियाँले बढी हो । कुल आम्दानीमध्ये ८० अर्ब ६७ करोड रुपियाँ कर राजस्व र तीन अर्ब ७९ करोड रुपियाँ गैरकर राजस्व रहेको छ । सरकारले समीक्षा अवधिमा ४२ करोड १९ लाख रुपियाँ अनुदान पाएको छ । त्यस्तै ३० करोड ८९ लाख रुपियाँ अन्य प्राप्ति गरेको छ । सरकारले उठाउनुपर्ने बक्यौता अन्य प्राप्ति अन्तर्गत राखिन्छ । राजस्व, अनुदान र अन्य प्राप्तिसहित सरकारको खातामा साउनमा ८५ अर्ब १९ करोड रुपियाँ जम्मा भएको छ । सामान्यतः चालु आवको पहिलो त्रैमासमा विकास निर्माणसँग सम्बन्धित ठेक्काको काम नहुने भएकाले यस अवधिमा सरकारको धेरै खर्च नहुने प्रवृत्ति छ ।