पञ्चकोशी समाचारदाता
पञ्चकोशी (दैलेख), भदौ ६ गते । पछिल्लो समयमा सरकारी अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । सेवाग्राहीका लागि सरकारी अस्पतालमा भने जस्तै सेवा सुविधा भएपछि त्यसप्रति विश्वास बढेको हो । नारायण नगरपालिका–११ का बलबहादुर मल्लले आफ्नी ३० वर्षीय बहिनी बालकुमारी शाहीको उपचार जिल्ला अस्पतालमै सफल रूपमा गरेको बताउनुभयो । उहाँकी बहिनीलाई भैँसीले आक्रमण गर्दा गम्भीर घाइते बनाएको थियो । गाउँको स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि जिल्ला अस्पतालमा पुग्नुभएका उहाँले स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताउनुभयो । पछिल्लो समय सरकारी अस्पतालप्रति सर्वसाधारणको विश्वास बढ्दै जान थालेको मल्लको भनाइ छ ।
डुङ्गेश्वर गाउँपालिका–४ का यमुना थापाकार्कीले पनि छोरीको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा आएको र सहज रूपमा स्वास्थ्य सेवा पाएको बताउनुभयो । उहाँले अस्पतालमा धेरै सुविधा थप भएपछि निजी अस्पताल र स्वास्थ्य संस्थाभन्दा सरकारी अस्पतालमा बिरामीको चाप वृद्धि भएको बताउनुभयो । नागरिकलाई सेवा प्रवाह गर्न अझै सेवा सुविधा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । विगतभन्दा दिनप्रतिदिन सरकारी अस्पतालप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विकले बताउनुभयो । जिल्लामा गर्भवती सेवा, नाक, कान, घाँटी, शल्यक्रिया, मनोरोग, मुटुरोग, हाडजोर्नी तथा नसाको दुःखाइ, रुघाखोकी, ज्वरोलगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समयमा केही महिनामा गुणस्तरीय सेवा प्रवाह, संरचना र व्यवस्थापनमा सुधार भएको डाक्टर विकको भनाइ छ । जिल्लामा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, ल्याब परीक्षण, भिडियो एक्सरे, फार्मेसी, प्रसूति सेवालगायतका सुविधा नियमित सञ्चालनमा रहेको अस्पताल प्रशासन जनाएको छ । जिल्ला अस्पताल दैलेखमा अघिल्लो गत आवमा मात्रै ४४ हजारभन्दा बढीले सेवा लिएको अस्पताल प्रशासन जनाएको छ ।