गुणबहादुर रोका
सुलीकोट, भदौ ६ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – ६ स्थित सिप्चेतका रिनजिन लामा बेपत्ता भएको चार दिनपछि मृत अवस्थामा फेला परेको छ । भदौ २ गते सोमबार अन्दाजी ४३ वर्षीय लामा बिजुलीको बिल तिर्न घरबाट निस्केपछि सम्पर्कविहीन भएका थिए ।
बिहीबार बिहान ९ बजे गोरेटो बाटोबाट अन्दाजी एक सय मिटर तल बुट्यानमा लामाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
लामाको शव फेला पारेसँगै आफन्तलाई खबर गर्न जाने क्रममा लडेर स्थानीय हिसे दोर्जेको पनि मृत्यु भएको सिप्चेतका स्थानीयले प्रहरीलाई जानकारी गराएका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।
लामाको खोजी कार्यमा दोर्जे पनि संलग्न हुनुभएको रहेछ, प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो, ‘शव भेटेपछि आफन्तलाई खबर गर्न जाने क्रममा भिरबाट लडेर उहाँको पनि घटनास्थलमै ज्यान गएको स्थानीयले प्रहरीलाई जानकारी गराएका छन् ।’
घटनाबारे थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरी निरीक्षक सरोज कार्कीको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली बिहीबार दिउँसो १ बजे पठाइएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो ।
हिमाल पारीको चुमनुब्री गाउँपालिका भौगोलिक विकटताले गर्दा जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनस्थतर्फ पुग्न ३ दिन लाग्ने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।