गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा आज सार्वजानिक गर्ने भएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गरी लिसाको नतिजा सार्वजनिक गर्ने भएको हो ।
सो अवसरमा लिसामा छनाेट भएका पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभा हलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम छ । सम्मान लिन छनोटमा परेका पालिकाहरुबाट नगरप्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरिएको मन्त्री न्यौपानेको सचिवालयले जनाएको छ ।
गत आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) र वित्तीय जोखिम मूल्याङ्कन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरी सर्वोत्कृष्ट गाउँपालिका र नगरपालिकालाई कदरपत्र प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
गाउँपालिका–नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०८०–८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य आ.व २०८१–८२ मा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय स्राेतका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०८०–८१ को नतिजामा चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ । त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो तथा अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ ।
त्यस्तै, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका चौथो र धादिङकै बेनीघाट गाउँपालिका पाँचौँ र गुल्मीको रुरुक्षेत्र गाउँपालिका छैटौँ स्थानमा छनोट भएका छन् । सो अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजिपिएसको शुभारम्भ गर्ने कार्यक्रम छ ।
विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग अलग मूल्याङ्कन गर्नेगरी कार्यविधि र प्रणालीहरु रहेकोमा चालु आर्थिक वर्षबाट तीन वटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रक्रियामुखी सूचकलाई परिमार्जन गरी व्यावहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएस) मार्फत एकीकृत मूल्याङ्कन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (एलजिपिएएस) को शुभारम्भ गरिने भएको छ ।
मन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्याङ्कन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग–अलग मूल्याङ्कन गर्नेगरी कार्यविधि र प्रणालीहरू रहेकामा चालु आर्थिक वर्षबाट तीन वटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रक्रियामुखी सूचकलाई परिमार्जन गरी व्यावहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासन कार्य सम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्याङ्कन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।”