काठमाडौं, भदौ ६ गते । सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । सभामुख घिमिरेले रास्वपाका सांसद निशा डाँगीलाई बोल्न समय दिनुभयो । सांसद डाँगीले संसद् बहिष्कार विरोधको स्वरुप भएको उल्लेख गर्दै यो विगतमा अहिलेका सत्तारूढ दलहरुले पनि गरेको स्मरण गराउनुभयो।
संसद्को विरोध लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध भनी चित्रण गरेकामा उहाँले आपत्ति जनाउनुभयो । सत्तापक्षलाई खबरदारी गर्न रास्वपाले निरन्तर आन्दोलन गरिरहेको सांसद डाँगीको भनाइ थियो । संसद् सङ्ख्याका आधारमा नभई प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
रास्वपाले दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेको र परिणाम शून्य भए पनि यसलाई निरन्तरता दिने सांसद डाँगीको भनाइ थियो । जनताको समस्या समाधान गर्न सरकार सुस्त भएको, पक्षपातको मापदण्ड बनाएर उपसभामुखलाई निकाल्न खोजेको, संवैधानिक परिषद् लामो समयदेखि नबसी संवैधानिक निकायलाई रिक्त राखिएको सांसद डाँगीको आरोप थियो ।
सांसद अनिषा नेपालीले भारत र चीनबीच सम्झौता गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापारिक मार्ग खोल्ने सम्झौताको राप्रपाले विरोध गरेको बताउनुभयो । यी भूभाग नेपालका अविभाज्य स्थान भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय सहमतिका आधारमा यो समस्या समाधानका लागि अनुरोध गर्नुभयो ।
भिजिट भिसामा छानबिन आयोग नबनेसम्म राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने पनि उहाँले जानकारी गराउनुभयो । दुवै सांसदले बोलिसक्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु संसद् भवनबाट बाहिरिएका थिए । रासस