ज्ञानु पंगेनी
मध्यविन्दु, भदौ ६ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३, उदयटाँडी निवासी सामाजिक अभियन्तासमेत रहनुभएकी दिवंगत गोमा पौडेलको न्यायका लागि दबाब दिन गठित सङ्घर्ष समितिले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
गत साउन ३० गते घरनजिकै श्रीमान महेन्द्र पौडेलले छुरा प्रहार गरी श्रीमती गोमा पौडेलको हत्या गरेका थिए । उक्त घटनामा संलग्न श्रीमानलाई हदैसम्मको सजायसहितको पाँचबुँदे माग राख्दै ध्यानाकर्षण गराएको हो ।
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार र दिवंगत गोमा पौडेलको न्यायका लागि गठित विनयी त्रिवेणी गाउँपालिकास्तरीय सङ्घर्ष समिति संयोजक विष्णु हमालको नेतृत्वमा आएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मालाई ज्ञापनपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा स्व. गोमा पौडेलको हत्यारा श्रीमानलाई हदैसम्मको कानुनी कारबाही गर्न, घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गर्न, पीडित परिवारलाई राहत, क्षतिपूर्ति र सुरक्षा उपलब्ध गराउन, महिला हिंसा रोक्न स्थायी संरचना निर्माण गर्न र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र यस्तो प्रकारका गम्भीर घटनाहरूमा शून्य सहनशीलताको नीति अपनाउन माग गरिएको छ ।
सङ्घर्ष समिति सदस्य शान्ति विकले ध्यानाकर्षणपत्र वाचन गरेर सुनाउनु भई गाउँपालिका उपाध्यक्ष वैदवार र सङ्घर्ष समिति संयोजक हमालले संयुक्त रूपमा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मालाई बुझाउनुभयो ।
पालिका उपाध्यक्ष वैदवारले समाजसेवामा सक्रिय, स्थानीयस्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएकी पौडेलको हत्या हुनु कुनै पनि संवेदनशील सरकारका लागि आँखामा पट्टी बाँधेर बस्न नमिल्ने बताउनुभयो ।
पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरी प्रशासनबाट घटनाका बारेमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढिसकेको हुँदा दोषीमाथि सजाय हुने कुरामा कतैबाट चुक नहुने भन्दै सम्बन्धित मन्त्रालयसम्म ध्यानाकर्षणपत्र पुर्याउने बताउनुभयो ।