काठमाडौँ, भदौ ६ गते । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ध्रुबहादुर प्रधान नेतृत्वमा गठन भएको एनओसीको दतर्थ कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक वडापत्रको उल्लङ्घन गरी गठन भएको जनाएको छ ।
श्रेष्ठको अध्यक्षतामा शुत्रबार बसेको कमिटीको ३१औँ कार्यसमिति बैठकले तदर्थ कमिटी ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ विपरीत घोषणा गरिएको उल्लेख गरेको छ ।
वैठकले नौ सदस्यीय तदर्थ कमिटीका सदस्यहरुमध्ये कमिटीको विधानअनुसार सम्बन्धित रहेका व्यक्तिहरुलाई सात दिनभित्र जवाफ पेश गर्न र स्पष्टिकरण माग गर्ने निर्णय पनि गरेको छ । साथै, सो सम्बन्धी पत्र अन्तर्राष्ट्रिय निकायहरुलाई समेत बोधार्थ पठाउने निर्णय पनि गरेको छ ।
यस्तै वैठकले अनधिकृत रूपमा प्रयोग गरिएको एनओसीको लोगो, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी), ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) र एसोसिएसन अफ नेसनल ओलम्पिक कमिटी (एएनओसी)का लोगो तथा ओलम्पिक भवनको प्रयोग तत्काल रोक्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
श्रेष्ठ नेतृत्वको एनओसीले नेपाल सरकारसँग आधिकारिक ओलम्पिक भवनको प्रयोग सुनिश्चित गर्न आग्रह गर्ने र सो भवन आइओसी र ओसीएको पूर्ण सहयोगमा निर्माण भएको हुँदा यसलाई आफुहरु (आधिकारिक ओलम्पिक कमिटी) ले प्रयोग गर्न सहज बनाउनेतर्फ सरकारलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।