रोम, भदौ ६ गते । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नु परेको विज्ञहरूले चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले युद्ध ग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्याएको आरोप लगाएका छन् । इजरायलको विदेश मन्त्रालयले गाजा शहर र आसपासमा अहिले अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनमार्फत हमासको झूटमा आधारित’ रहेको बताएको छ । “गाजामा कुनै अनिकाल छैन,” मन्त्रालयले भनेको छ ।
अनिकालको आँकलन संयुक्त राष्ट्रसङ्घले आसन्न सङ्कटबारे चेतावनी दिने जिम्मा पाएको अनुगमन कर्ताको गठबन्धन ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी)’ले गरेको थियो । यसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ। गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् ।
प्रत्येक १० हजार मानिसमध्ये कम्तीमा दुई जनाको मृत्यु दैनिक भोकमरी वा कुपोषण र रोगका कारण हुन्छ । संयुक्त राष्ट्रसङ्घका निकायले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि झनै बिग्रिएको र गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् । रोमस्थित आईिपसीले भनेको छ, “सन् २०२५ अगष्ट १५ सम्ममा गाजाको प्रशासनिक प्रान्तमा अनिकाल (आईपीसी चरण ५) उचित प्रमाणसहित पुष्टि भएको छ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार हाल गाजा क्षेत्रमा करिब १० लाख मानिस बसोबास गर्छन् । “पछिल्लो २२ महिनाको निरन्तर द्वन्द्वपछि गाजा पट्टीका पाँच लाखभन्दा बढी मानिस भोकमरी, गरिबी र मृत्युको भयावह अवस्थाको सामना गरिरहेका छन्,” आइपिसीको दण्ड संहिताको प्रतिवेदनमा भनिएको छ ।
अनिकाल सेप्टेम्बरको अन्त्यसम्ममा देइर अल-बालाह र खान युनिस प्रान्तहरूमा फैलिने र यसले गाजाको कुल जनसङ्ख्याको तीन चौथाईभन्दा बढी वा लगभग छ लाख ४१ हजार मानिसहरू समावेश रहेका आइपिसीले अनुमान गरेको छ । आइपिसीले गाजा पट्टीमा भोकमरीको विश्लेषण गर्न थालेदेखि स्थितिमा सबैभन्दा गम्भीर गिरावट आएको रिपोर्ट गरेको छ, जसलाई यसले ‘पूर्ण रूपमा मानव सिर्जित’ भनेको छ ।
द्वन्द्वमा तीव्र वृद्धि र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित हुनुका साथै खाद्यान्नको मानवीय र व्यावसायिक आपूर्तिमा पहुँचमा गम्भीर प्रतिबन्धका कारण यो परिवर्तन आएको बताइएको छ । मार्चको सुरुमा, इजरायलले गाजाबाट सहायता आपूर्तिमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो भने मेको अन्त्यमा धेरै सीमित मात्रामा मात्र सहायता प्रवेश गर्न अनुमति दिएको थियो । यसले गर्दा खाद्यान्न, औषधि र ईन्धनको गम्भीर अभाव भएको होे ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले भोकमरीलाई युद्धको विधिका रूपमा प्रयोग गर्नु युद्ध अपराध भएको बताउनु भएको छ । संयुक्त राष्ट्रसङ्घका आपतकालीन राहत संयोजक टम फ्लेचरले जेनेभामा पत्रकारसँग कुरा गर्दै इजरायलको व्यवस्थित अवरोधका कारण सीमामा खाद्यान्न थुप्रिएको बताउनुभएको छ । उहाँले गाजाको अनिकालले ‘सबैलाई पिरोल्नुपर्ने’ बताउनु भएको छ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम गर्न, इजरायलबाट हमासले बन्धक बनाएका सबैलाई रिहा गर्न र गाजामा पूर्ण मानवीय पहुँचका लागि पुनः आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामी यो अवस्थालाई दण्डहीनताका साथ जारी रहन दिन सक्दैनौँ ।” विशेष गरी खानाको अभावले गर्दा बालबालिकालाई निकै समस्या हुने गरेको छ ।
राष्ट्रसङ्घीय निकायका अनुसार जुलाईमा मात्रै १२ हजारभन्दा बढी बालबालिका कुपोषित भएका छन् । युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले भन्नुभयो, “गाजामा बच्चाको शरीर बिग्रिएकोे, उनीहरू खानको लागि पनि धेरै कमजोर अवस्थामा रहेका, बच्चा भोक र रोकथाम योग्य रोगबाट मरिरहेका लक्षण स्पष्ट देखिन्छ ।” गाजा पट्टीमा अनुमानित ९८ प्रतिशत खेतीयोग्य जमिन क्षतिग्रस्त, दुर्गम वा दुवै क्षेत्रमा क्षति पुगेको आइपिसीले जनाएको छ ।
यहाँ पशुधन नष्ट गरिएको छ भने माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य प्रणालीको गम्भीर गिरावट र सुरक्षित पिउने पानी र पर्याप्त स्वच्छताको अभावले सङ्कटलाई अझ जटिल बनाएको छ । गाजामा सूचना सङ्कलन गर्न निकै कठिन छ । आइपिसीले गाजा शहरको उत्तरमा रहेको उत्तरी गाजा प्रान्तको अवस्था अझ खराब हुन सक्ने बताएको छ, तर आफूसँग पर्याप्त तथ्याङ्क नभएको बताएको छ । रासस/एएफपी