• ६ भदौ २०८२, शुक्रबार

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान

म केही बन्न सक्छु भन्ने सोच राख्नुहोस् : महामन्त्री शर्मा

blog

तारकेश्वर नगरपालिकामा आयोजित ‘विद्यार्थी बधाई तथा प्राचार्य सम्मान कार्यक्रम’ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहित ।

काठमाडौं, भदौ ६ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीहरुले मनोबल गुमाउने ‘निरासाको मनोविज्ञान’ मानसिकता राख्न नहुने बताउनु भएको छ । 

तारकेश्वर नगरपालिकामा आयोजित ‘विद्यार्थी बधाई तथा प्राचार्य सम्मान कार्यक्रम’मा बोल्दै उहाँले जीवनमा सफलताका लागि आत्मविश्वास र दृढ इच्छाशक्तिको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

महामन्त्री शर्माले भन्नुभयो, “जन्मिँदा गरिब जन्मिनु तिम्रो दोष होइन, तर मर्दा पनि गरिबै मर्नु भनेको तिम्रो अयोग्यता हो, केही गर्नै सकिँदैन भन्ने सोचले कहिल्यै सफलता पाइँदैन। यदि तिमी सोच्छौ कि म सक्छु, तब तिमी साँच्चिकै सक्छौ। मनमा दृढ निश्चय भए केही असम्भव छैन।”

महामन्त्री शर्माले विद्यार्थीलाई प्रेरणा दिने उद्देश्यले भने, “हरेक मानिसभित्र प्रतिभा हुन्छ। म केही गर्न सक्छु, म केही बन्न सक्छु भन्ने सोच राख्नुहोस्।” 

उहाँले अहिलेका बालबालिकाले डाक्टर र इन्जिनियर बन्ने सपना देखे पनि शिक्षक वा नेता बन्ने इच्छा नदेखाउनुमा समाज र नेतृत्वकै कमजोरी रहेको उल्लेख गर्नुभयो । 

“२० वर्षपछि शिक्षक र नेता नभए समाज कस्तो हुन्छ ? त्यसैले नेतृत्वमा आउने र शिक्षा फैलाउने भावना सबै विद्यार्थीमा हुनुपर्छ,” उहाँले जोड दिनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले शिक्षक आफैँ जलेर अरूलाई उज्यालो दिने दीप जस्तै हुन्। शिक्षाले संस्कृति र गरिमा उचो बनाउँछ भन्नुभयो । 

कक्षा १२ उत्तीर्ण गरेलगत्तै वैदेशिक अध्ययनको सपना देख्ने युवालाई पनि प्रमुख महर्जनले स्वदेशमै केही गर्ने साहस राख्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “देशको सामाजिक, आर्थिक, भौतिक र पर्यटन विकासमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण छ ।” 

नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले शिक्षा नैतिकता निर्माणको बलियो आधार भएको र सबै तहका विद्यार्थीलाई लक्षित गर्दै एकीकृत छात्रवृत्ति पोर्टल निर्माणको माग गर्नुभयो । 

अध्यक्ष शेर्पाले भन्नुभयो, “हामीले चाहे स्कुलदेखि विदेशी विश्वविद्यालयमा अध्ययन गर्न चाहनेसम्मका लागि समान अवसर दिनुपर्नेछ ।’’ 

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले शिक्षा अनुशासनको माध्यम भएको बताउनु भयो ।


सम्मान र बधाई 

नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ उत्तीर्ण गरेका ३५० भन्दा बढी विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरिएको थियो। साथै, तारकेश्वर क्षेत्रभित्र कक्षा अध्यापन गराउने २४ विद्यालयका प्राचार्यहरूलाई पनि विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला सभापति कृष्ण बानिया ‘सवुज’, उपमेयर सिर्जना बुर्लाकोटी, पार्टीका क्षेत्रीय र प्रदेश सभापति, महासचिव सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ तारकेश्वर नगर कार्यसमितिका सभापति सौरभ कुमार कार्कीले गर्नु भएको थियो भने केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक परोपकार अधिकारीले कार्यक्रमको संयोजन गर्नुभएको थियो ।