काठमाडौँ, भदौ ६ गते । नेपाली भेट्रान खेलाडीले माल्दिभ्समा जारी प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेको छ ।
प्रतियोगितामा नेपालले समान एक रजत र एक कांस्य जितेको माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।
पुरुष सिंगल्स ४० वर्षमाथि नेपालका सुरज वज्राचार्यले रजत जित्नुभयो । सुरज फाइनलमा रुसका जियोर्गी भाख्निन्सँग ३–० को सोझो सेटमा पराजित हुनुभयो ।
६० वर्षमाथि पुरुष सिंगल्समा सुरेन्द्रप्रसाद ढकालले कांस्य जित्नुभयो । सेमिफाइनलमा भारतका नाज्मी किन्खाब्वालाले सुरेन्द्रलाई ३–१ ले हराएका थिए ।
नेपालबाट प्रतियोगितामा ६ खेलाडी सहभागी छन् । पूर्व मुख्य प्रशिक्षक कपालीका अनुसार प्रतियोगितामा १७ राष्ट्रका तीन सय ३० खेलाडी सहभागी छन् ।