• ६ भदौ २०८२, शुक्रबार

भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माण हुँदै

blog

भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माणबारे जानकारी गराउँदै आयोजनाका अध्यक्ष मोहनविक्रम कार्की । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार    
सिन्धुपाल्चोक, भदौ ६ गते ।
सिन्धुपाल्चोकमा कालिका इनर्जी लिमिटेड प्रस्तावक रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजना निर्माण हुने भएको छ । मध्य भोटेकोशी जलविद्युत् आयोजना (१०२ मेगावाट) को पावरहाउसबाट निस्कने पानी प्रयोग हुने गरी भोटेकोशी–५ जलविद्युत् आयोजना निर्माण हुन लागेको अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिनुभयो ।

नौ अर्ब ७२ करोड ८२ लाख ६७ हजार ३०१ रुपियाँमा लागतमा निर्माण हुन लागेको भोटेकोशी–५ जलविद्युत आयोजनाले मध्य भोटेकोशी जलविद्युत आयोजनाको पावरहाउसमुनि झण्डै ५ किलोमिटर सुरुङ र पेनस्टक पाइपका माध्यमबाट पानी लगेर बाह्रबिसे नगरपालिका–९ र त्रिपुरासुन्दरी गापा–३ का बिच कल्लेरीमा पावरहाउस निर्माण तयारी गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु हुन लागेको उक्त आयोजनाबाट बाह्रबिसे नगरपालिका–३, ४, ५, ८, ९ र त्रिपुरासुन्दरी गाउँपालिका–३ प्रत्यक्ष प्रभावित हुनेछन् । स्थानीय प्रभावितहरुबिच सो आयोजनाले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनसहित सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । सो आयोजनाले कुल वार्षिक २५२ दशमलव ५६ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ । सुख्खा मौसममा ७६ दशमलव १४ गिगावाट आवर र वर्षा मौसममा १७६ दशमलव ४२ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

बाह्रबिसेमा रहेको बाह्रबिसे सबस्टेसनमा प्रसारण लाइन जडान गरिनेछ । आयोजनालाई ६ दशमलव ४५३ हेक्टर कुल जग्गा आवश्यक पर्नेछ । सामुदायिक वन ३ दशमलव ३९३ हेक्टर, ३ दशमलव ६ हेक्टर निजी जग्गा प्रयोग गर्नेछ । ९० जना दक्ष र ५३ अर्धदक्ष र ११२ अदक्ष गरी २ सय ५५ जना जनशक्तिहरु आयोजनालाई आवश्यक पर्नेछ । तीन वर्ष निर्माण अवधिमा नौ हजार १८० जनाले रोजगारी पाउनेछन् । दक्षता र क्षमता अनुसार स्थानीय प्रभावितहरुलाई रोजगारीमा प्राथमिकता दिइने अध्यक्ष कार्कीले बताउनुभएको छ ।

प्रभावित क्षेत्रमा आयोजनाले सामाजिक उत्तरदायित्वका काम गर्ने जनाइएको छ । प्रभावित क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका साथै सीपमूलक, आयमूलक काम गर्नेछ । आयोजनाबाट प्रभावित राम्चे, मानेश्वाँरा, नेपाल गाउँ, खोरन, बाह्रबिसे, खोर्सानीबारी, सिरिसे, पलाँती तथा अन्य प्रभावित वडामा सामाजिक उत्तरदायित्वका काम गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न हुनासाथ प्रभावित स्थानीयलाई एक सय करोडको सेयर उपलब्ध गराउने आयोजनाले बताएको छ । सात अर्ब बैंक ऋण हुने सो आयोजनामा ३ अर्ब जनताको लगानी रहने अध्यक्ष कार्कीको भनाइ छ ।