गङ्गाकुमारी मिजार
रसुवा, भदौ ६ गते । गत साउन १४ गते आएको बाढीले पुनः क्षति गरेको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड २२ दिन बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सडक बन्द रहँदा यात्रुहरु पैदलयात्रा गर्न बाध्य छन् । टिमुरे बजारको व्यापार ठप्प छ ।
चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले करिब दुई किलोमिटर सडक कटान गरेपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रुपनारायण पौडेलका अनुसार, टिमुरे, तातोपानी डाँडा, फ्याङलुङ र लिङलिङका कटान क्षेत्रहरु मर्मत भए पनि गोसाइँकुण्ड गाउँपालिका –३ मेदाङपुदुङमा चट्टान फेला परेकाले काममा ढिलाइ भएको छ ।
“एउटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था भएकाले गति सुस्त भए पनि मर्मत कार्य नियमित रुपमा भइरहेको छ” पौडेलले बताउनुभयो । उहाँका अनुसार सडक पुनरनिर्माण सम्पत्र गर्न अझै कम्तीमा एक सातासम्म समय लाग्ने देखिएको छ ।
स्थानीय व्यापारी र यात्रुहरु लामो समयदेखि अवरुद्ध सडकका कारण ठुलो असुविधा खेपिरहेका छन् । वैकल्पिक बाटो भएर गन्तव्य पुग्न निकै समय लाग्ने गरेको उनीहरुले बताएका छन् ।
गत असार २४ गतेको बाढीमा सो सडक करिब एक किलोमिटर क्षतिग्रस्त बनेको थियो । त्यतिबेला १३ दिनको मर्मतपछि साउन ४ गतेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि पछिल्लो बाढीले झन् ठुलो क्षति गरेको छ ।