• ६ भदौ २०८२, शुक्रबार

दुई सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना

blog

अक्षयकोषका लागि चेक हस्तान्तरण गरिँदै ।

इमान सिं राना

रामपुर (पाल्पा), भदौ ६ गते । रामपुर नगरपालिका-६ तालपोखरास्थित भण्डारी परिवारले दुई सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । स्वर्गीय जनक भण्डारीको ४५ औं दिनको पुण्यतिथीमा उहाँको परिवारले नवदुर्गा माध्यमिक विद्यालय, तिलकपुर र दरैठाँटी माध्यमिक विद्यालय विजपयुरमा अक्षयकोष स्थापना गरेको हो ।

सामाजिक एवं राजनितिक क्षेत्रमा सक्रिय भण्डारीको गत असार २४ गते बुटवल बाट पाल्पा आउने क्रममा सिद्धबाबाको पहिरोमा परी निधन भएको थियो। उहाँको स्मृतिमा एकरएक लाख रुपियाँ राशीको ‘जनक स्मृति अक्षयकोष’ दुई विद्यालयमा स्थापना गरेको हो ।   

भण्डारीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएर  सेवा गर्नु भएको नवदुर्गा मावि र अध्ययन गर्नु भएको विद्यालय दरैठाँटी माविमा अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ । दरैठाँटी माविका शिक्षक समेत रहनु भएका बुवा सागरप्रसाद भण्डारीले परिवारका सदस्यहरुको उपस्थितिमा नवदुर्गा माविमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर कुमाल र प्रधानाध्यापक शोभाकान्त सिग्देललाई अक्षयकोषको लागि चेक हस्तान्तरण गर्नुभएको थियो । कोषको व्याज बाट प्राप्त रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक शोभाकान्त सिग्देलले जानकारी दिनुभयो ।

त्यस्तै दरैठाँटी माविमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनी र प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई चेक हस्तान्तरण गर्नु भएको थियो । स्वर्गीय भण्डारीले विभिन्न संघ संस्थामा रही महत्वपूर्ण योगदान दिनु भएको स्मरण गर्नु हुँदै दरैठाँटी माविका प्रधानाध्यापक देवकोटाले अक्षयकोष मार्फत शिक्षा क्षेत्रको उत्थानमा नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने व्यक्तिहरुलाई सम्मान गरिने बताउनुभयो ।