• ६ भदौ २०८२, शुक्रबार

ड्रागनफ्रुटको खेतीबाट परिवारलाई रोजगारी

blog

बाँकेको खजुरा –४ एफ गाउँमा उत्पादन गरिएको ड्रागन फल । तस्बिरः गोविन्द शर्मा

गोविन्द आचार्य

बाँके, भदौ ६ गते । बाँकेको खजुरा गाउँपालिका –४ एफ गाउँका किसान तिलबहादुर श्रीष मगर केही समय पहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुक जानुहुन्थ्यो । तर विदेशमा सिकेको सीप गाउँमै काम लागेपछि उहाँ परिवारसहित घरमै बसेर काम गरिरहनुभएको छ । 

विगतमा मलेसियामा बिताएका मगरले १० वर्षमध्ये ६ वर्षभन्दा बढी समय ड्रागन फर्ममा बिताउनुभयो । फर्कदा २०७३ सालमा एउटा ड्रागन फलको विरुवा साथमा लिएर आउनुभयो । त्यसलाई बारीमा रोप्नुभयो । 

उहाँ फेरि मलेसिया काममा जानुभयो । त्यसपछि मलेसियाबाट फर्केपछि करिब ६ वर्षदेखि उहाँ फेरि विदेश नजाने गरी ड्रागन फल उत्पादनमा लाग्नुभएको छ । अहिले उहाँको गाउँमा मात्र धेरै जनाले ड्रागनफ्रुटको खेती गरेका छन् । उहाँकी पत्नी तिलसरा श्रीषमगरसहित परिवारका अन्य सदस्यहरु पनि ड्रागनफ्रुट खेतीमा जुट्नुभएको छ । 

अहिले उहाँले करिब एक बिघा जग्गामा ड्रागनको खेती गर्नुभएको छ । पत्नी तिलसरा र घरपरिवारका सदस्यहरुले बारीको काममा सघाएपछि तिलबहादुर घरबाहिरको बजारीकरणको काममा खटिने गर्नुभएको छ । विगतमा भाटभटेनीलाई फल बिक्री गर्दैआएका तिलबहादुरले पछिल्लो समय कोहलपुरमा यो फल बिक्री गर्दै आउनुभएको छ । 


दैनिकजसो ड्रागनफ्रुट खरिदका लागि घर र बारीसम्म मानिसहरु पुग्नेगरेका छन् । मगरले भन्नुभयो, “ड्रागनले क्रमशः फल उत्पादन दिन थालेको छ, विदेशमा कमाउने पैसा घरमा परिवारका सदस्यसँग बसेर कमाउन सकिन्छ भने किन विदेशमा काम गर्न जाने, मैले अब फेरि विदेश जाने सोच त्यागिसकेको छु । ”

विद्युतको पोल नढलेसम्म करिब २५–३० वर्षसम्म यसको उत्पादन राम्रो हुने उहाँको भनाइ छ । एउटाबाट करिब २० किलोसम्म उत्पादन हुने गरेको छ । गर्मी र आकाशे पानी बढी हुने भएकाले बाँके लगायत तराईका जिल्लामा यसको राम्रो उत्पादन हुने मगरले बताउनुभयो ।