• ६ भदौ २०८२, शुक्रबार

बेवारिसे कुकुरलाई छाड्न भारतीय सर्वोच्च अदालतको आदेश

blog

नयाँदिल्ली, भदौ ६ गते । भारतको सर्वोच्च अदालतले नसबन्दी र खोप लगाएपछि नयाँदिल्लीका सडकबाट हटाइएका सबै बेवारिसे कुकुरलाई पुनः छाड्न आदेश दिएको छ । अदालतले शुक्रबार दिएको यो आदेशले पहिलेको निर्णयलाई परिमार्जन गर्दै कुकुरलाई हटाइएका स्थानमै फिर्ता पठाउनु पर्ने भनेको छ । 

साथै, राजधानीभरि तोकिएका खाने स्थान बनाउनु पर्ने उल्लेख गरिएको छ । पशु अधिकारकर्मी र कार्यकर्ताले अगस्ट ११ मा अदालतले दिएको स्थायी आश्रयमा राख्ने आदेशविरुद्ध अपिल दायर गरेका थिए । नयाँदिल्लीका सडकमा घुम्ने धेरै कुकुर हानिरहित भएपनि, टोक्ने घटना बढ्दै गएको कारण अदालतले यस्तो आदेश दिएको हो ।

विशेष गरी बालबालिका संलग्न हुने घटनाले चिन्ता बढाएको छ । अस्पतालका तथ्याङ्कअनुसार, नयाँदिल्लीमा दैनिक करिब दुई हजार जनालाई कुकुरले टोक्ने गरेको अनुमान गरिएको छ । कुकुरको टोकाइबाट सर्ने रेबिज एक भाइरसका कारण हुन्छ, जसले केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ र उपचार नगरे मृत्यु हुन सक्छ ।

अदालतको शुक्रबारको आदेशअनुसार, कुकुरलाई उनीहरूलाई हटाइएका स्थानमै छोडिनु पर्ने छ र राजधानीभरि तोकिएका खाने ठाउँहरू बनाउनु पर्ने छ । तर, यो आदेश रेबिज सङ्क्रमित वा आक्रामक व्यवहार देखाउने कुकुरमा लागू हुने छैन । नयाँदिल्लीमा बेवारिसे कुकुरको सङ्ख्या पाँच लाखदेखि १० लाखको बिचमा रहेको अनुमान गरिएको छ । रासस/एपी