काठमाडौँ, भदौ ६ गते । ११औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उशुमा स्वर्ण पदक विजेता जुनी राईलाई नेपाल प्रहरीले सम्मान गरेको छ ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको छवि उचो बनाउन उल्लेखनीय योगदान दिएको र अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो महिला प्रहरी बनेकोमा प्रहरी नायब निरीक्षक (सइ) जुनीलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभयो ।
प्रहरी मुख्यालय नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलनको अवसरमा जुनीलाई सम्मान गरिएको हो । पुलिसको प्रशिक्षकको भूमिकामा रहनुभएकी जुनीले ५६ केजी सान्साउ विधामा श्रीलङ्काकी प्रतिस्पर्धीलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको थियो ।
सम्मानपछि जुनीले आफ्नै संगठनबाट सम्मान हुन पाउनु खुसीको क्षण भएको बताउनुभयो । उहाँले प्रशिक्षकको भूमिकामा रहेर नेपाल प्रहरीलाई देशकै उत्कृष्ट टोली बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।