- ‘हातमा सारी काँधमा झारी कमला नुहाउन आयौँ है,
- शिवको मन्दिरमा पाकेको केरा त्यही पाए खाँदा हौ शिव ... त्यही पाए खाँदा हौ,
‘एउटा कुरा भन्छु है दिदी ! यो चोटि त मान्नै पर्छ नि ! कति वर्ष भयो हामीले आयोजना गरेको तिज कार्यव्रmममा सामेल हुनु पर्छ भनेर अनुरोध गरेको । कस्तो बिजी हो के तपाईं । यसो चाडपर्वमा त रमाइलो गर्नु पर्छ नि ! मातातीर्थको खुला आँगनमा यो वर्ष पनि तिजको कार्यव्रmम राखेका छौँ । हाम्रो परम्परालाई हृदयमा सजाएर भव्य रूपमा मनाउनु पर्छ है तिज । तपाईं जहिले पनि नाइँ नाइँ भन्नुहुन्छ । मैले तपाईंको नाम अगाडि लेखिसकेँ नि ! अब आउँदिनँ भन्न पाउनु हुन्न ।’
प्रगति बैनीको कुरा सुनेर हाँस्दै भनेँ, ‘तिजभन्दा अगाडि नै खाने र दर ? दर खाने दिन त माइत पो
जान्छु नानी !’
मेरो बोली टुङ्गिन नपाउँदै बैनी बोलिन्, ‘ह्या दिदी पनि धेरै ल्याङ्ल्याङ नगनुर्् है । किन दर खाने भन्नु प¥यो तपाईंलाई ! दर खाने दिन त हामी पनि माइती नै जान्छौँ । शनिबार जम्मा भएर यसो रमाइलो गर्ने पो हो त ! यो त दिदीबहिनीहरूको भेटघाट हो । रमाउन नजान्ने मान्छे यस्तै यस्तै तर्क गरेर दुःखी हुन्छन्, तपाईं त रमाउने नै मान्छे हो । आजको परिवेशमा व्यस्त छन् मान्छे । काम, काम, काम, भनेर दगुरेका छन् । कम्तीमा तिजको निहुँले केही दिन त रमाउन पाइएको छ । मान्छेहरू हरेक हप्ता रमाइलो गर्छन् । साथीभाइ मिलेर कतै होटल या बारमा गएर रक्सी, मासु अरू पनि के के जाति खाँदै पार्टी गर्दा त कोही चुँ पनि बोल्दैनन् त ! सधैँ तिज छ त अरूलाई । हामी रमाउने हो अरू केही होइन दिदी, धेरै नसोच्नूस् । कहिलेकाहीँ त चलन अनुसार हिँड्नु पनि पर्छ क्या ! खालि आदर्शका कुरा छाँटेर हुन्छ । कति पढ्नु, कति लेख्नु । बरु तिज मनाएपछि राम्रो लागेका र राम्रो नलागेका कुराहरू लेख्नु नि !
हाँसिरहेँ प्रगति बहिनीको उत्साह देखेर । कत्रो रहर । आफू मात्र होइन, अरूको पनि खुसी हेर्न चाहने बहिनीको हृदय कति सुन्दर । उनी अझ बोल्दै थिइन्, ‘हैन दिदी ! तपाईंले कति धेरै लेखेको, कति पढेको दिक्क लाग्दैन ? पहिले पहिले त यसो हार्माेनियम पनि बजाउनु हुन्थ्यो है न ?’ सहमति जनाउँदै बहिनीलाई सुन्दै गएँ, ‘ल है दिदी
यो चोटि तिजको मौलिक गीत गाउनु पर्छ, हजुरको हार्माेनियम पनि चाहिन्छ होला । तिजसम्बन्धी गीत, कविता केही लेखेर ल्याउनू नि !’ म्यासेन्जरमा हामी निकैबेर गफियौँ । प्रगति बहिनीसँग लामो कुराकानी गरेपछि नाइँनास्ती गर्न सकिनँ । अनि हाँस्दै भने, ‘हुन्छ नि त बहिनी आउँछु तर तडकभडक चाहिँ नगरौँ है त ! मलाई फिटिक्क मन पर्दैन संस्कृतिको अराजक रूप । बरु यसो गरौँ न तिजको दर लिएर मातातीर्थ वृद्धाश्रममा पनि आमालाई दर लैजाऊँ है ! साधारण किसिमको खानपान गरौँ हुन्न ?’
बहिनीले हाँस्दै भनिन्, ‘थाहा छैन दिदी वृद्धाश्रमभित्र त पकाएको खाना लैजान मिल्दैन नि, मैले हिजै सोधेकी थिएँ । हामीले उठाएको पैसाबाट वृद्धाश्रमलाई पनि केही रकम दिने योजना छ । लु रमाइलो गर्नु पर्छ है त ।’
प्रगति बहिनीसँग कुरा भएपछि मनभरि उदाए तिजका अनेकौँ रूप । तिजका आदिम र आधुनिक आवाजले मलाई विस्मित पार्दै लग्यो । एक महिना अगिदेखि नै मौलिक आँगन छोडेर नाच्दै तिज । धार्मिक, पौराणिक र सांस्कृतिक पर्वभन्दा पनि फेसन ज्यादा भिरेको छ नवीन तिजले । तिज मनाउनेहरूले नै मञ्चमा गएर फरिया माथि माथि सार्दै तिजको नाङ्गो नाच देखाउँदै छन् । तिजको गरिमालाई नवपुस्ताको आँखाबाट झार्दै छ, खस्काउँदै छन् ।
दर खाने नाममा परिवारमा कलह उत्पन्न हुँदै गएको घटना हाम्रा लागि नौलो छैन । तिजका मौलिक गीतहरूमा बजारको बाढी पसाएर संस्कृतिलाई नै बगर बनाउँदै छन् कोही । विकृतिको सुलसुलेले हाम्रो परम्परालाई ध्वस्त पार्दै छ । आफ्नै शिर काटेर सभ्य हुने प्रतिस्पर्धामा हामी मुर्कटा हुँदै छौँ ।
मनभरि तिजको तरङ्ग पसेपछि निकैबेर सोचमग्न भएँ । झमक्क साँझ परिसके छ । हतार हतार भान्साको व्यवस्थापनमा लागेँ । भाँडा मोल्दा मोल्दै कानमा अतीतको तिज श्रुतिमधुर गुन्जियो । तिजको सङ्गीतले मुहुनी लगाउँछ मलाई । मौलिक तिजका भाका, लय, सुर र तालमा म डुब्दै गएँ । अतीतको सुन्दर संसारमा झलमल्ल उदायो । ढकमक्क तिउरी फुलेको मेरी आमाको आँगन सजीव भएर हाँस्यो । आँगन भरी सुन्न थालेँ मादलमा चेलीका बेदनाहरू ।
दिदीहरू, आमाहरू, फुपूहरू, घरगाउँका चेलीहरू । सबै साधारण पहिरनमा छन् । परिधानभन्दा कता हो कता मूल्यवान् हुने रहेछ अनुहारमा देखिएको सन्तुष्टिको आभास्वर । खुसीको आकाश फिँजिएको छ आमाको आँगनभरि । दरको तयारी बडो सुस्वादु छ । कति सरल छ वातावरण । काव्यको लहर हरेकको मुखबाट बग्दो छ । दुःख, पीडा, अभाव, सङ्घर्षका साथै आनन्द खुसी र उत्साहको बडो मार्मिक काव्य पस्किँदै छन् चेलीहरू । चेलीको तिज भाकामा बारीका काँव्रmाहरू पनि नृत्यमा झुम्दै छन् । खानाभन्दा महìवपूर्ण छ दिदीबहिनीहरूको मेलमिलाप र भेटघाट । कुराकानीको सुन्दर अवसर । माइतीको आँगन ।
दर खाने अगिल्लो दिन हजुरआमा भित्ताको दराज खोलेर मलाई बोलाउँदै भन्नुहुन्छ, ‘ए अनेता जा तरकारी लिन पिठियातिर । सस्तो पाइन्छ तरकारी । भोलि दर खुवाउनु पर्छ । धेरै थरीका तरकारी आउँछ पिठिया जान पाए । जा झट्ट बरु रिक्सा चढेर फर्किनू ।’ हजुरआमा पोक्तीबाट पैसा गन्दै झिक्नुहुन्छ । कठै दराजको ढोका पनि पूरै नखोली बडो जतनका साथ पैसा गन्दै हुनुहुन्छ ।
हातबाट भाँडा खन्द्य्रान्ङ झ¥यो । वर्तमानमा फर्किएँ । छिमेकीको घरमा दरको आधुनिक उत्सव छ । सङ्गीतको धुन चर्काे छ । हिन्दी गीत घन्किएका छ, त्यो पनि मसालेदार । नेपाली गीत पनि सुन्न नसकिने अनेकार्थी शब्दका छन् । भड्किलो छ दर खाने घरको माहोल । म निदाउन सक्दिनँ । छोरीको पढाइको पारो मास्तिरै उक्लिँदै छ । आउँदै छ परीक्षा । छोरी रिसाउँदै भन्छे, ‘ह्या मामु यो तिज किन आउँछ, मलाई त पटक्कै मन पर्दैन । कति हल्ला गरेका । कति दिनसम्म हुन्छ हो हल्लाखल्ला अब ? घरभित्र आफैँ मात्र रमाए त हुन्छ नि ! कत्रो साउन्डमा गीत बजाएको छ्या आफूलाई कति पढ्नु छ । ध्यान नै एकीकृत हुँदैन । अब रातभर यही हुन्छ पारा कसरी सुत्नु भोलि बिहान सबेरै उठ्नु, छ हे भगवान ! अझ सुनिस्यो न तिजको कार्यव्रmम रे ‘मुन्नी बदनाम हुई ! गीत पो घन्काएको छ । यही हो त मामु हजुरहरूको तिज ?’ छोरीको प्रश्नले मेरो शिर झुक्यो । म छोरीलाई सम्झाउँछु, ‘हो नानी अब हामी सचेत हुनै पर्छ । हाम्रो कारणले समाजलाई असर पार्नुहुँदैन । यो तिजको विकृति हो नानी ! सभ्य तरिकाले सम्पन्न गर्नु पर्छ हरेक चाडपर्वहरू । साइबर युगले चेतना नै निलेको बडो कहाली लाग्दो समयमा उभिएका छौँ हामी । नवीनताको नाममा हामीले नै हाम्रो सभ्यता र संस्कृति मास्दै छौँ । अज्ञानको बेलगाम घोडा चढेर आफ्नो अस्तित्व नामेट पार्दै छौँ । मौलिकता मास्दै हामी पहिचानविहीन हुन खोज्दै छौँ । हामीलाई सुन्दरता र कुरूपताको भेद पनि ज्ञात छैन । अतीत भुलेर हामी त अनुहारविहीन पुतला हुँदै छौँ । हामीलाई चिन्ता छैन भोलिको । आज तिमीले त तिजको यो रूप देखेर तर्सियौँ तर नानी मैले तिजको भद्र र शालीन रूप देखेकी छु ।’
छोरीका उत्सुक आँखा मेरो अनुहारमा पोखिए । म बहकिँदै गएँ, ‘मेरी हजुरआमा र आमाहरूको तिज यस्तो थिएन । देखेकी छु मैले तिजको मौलिक रूप । दर खाएकी छु उहाँहरूसँगै उठेर । राति उठाउन आउनुहुन्थ्यो आमा
‘नानी उठ दर खान । भाले बास्ने बेला हुन लागिसक्यो उठ झट्ट ।’ आमाको बोली सुनेपछि भर्खर सुतेका आँखा मिच्दै म उठेर आमा नजिक जान्थेँ । आमाले ढकनी र आलुको कवाफ दिनुहुन्थ्यो । भर्खर खाएर सुतेको मान्छेलाई पनि रुच्थ्यो राति उठेर खाएको दर । दरको स्वाद नै फरक लाग्थ्यो नानी !’
मेरी छोरी अझ नजिकै आएर भन्छे, ‘अनि हजुरले पनि व्रत लिनुहुन्थ्यो त मामु ?’ छोरीको टाउको मुसार्दै भन्छु, ‘व्रत त लिन्न थिएँ नानी तर दर भने मज्जाले खान्थेँ । तिजको दिन आमाहरूसँग कमला नुहाउन म पनि पछि पछि जान्थेँ । खोलामा आमाहरू के के जाति गरेर पूजा गर्नुहुन्थ्यो । एउटा लाम्चो ढुङ्गोलाई बालुवामा अड्याएर देउता बनाउने । सबै जनाले नुहाएर चोखो वस्त्र धारण गरेपछि आरम्भ हुन्थ्यो नाचगान । आफैँले बनाएको देवतालाई बिचमा राखेर घुम्दै नाच्नुहुन्थ्यो । ससाना काँव्रmा प्रसादको रूपमा चढाएको हुँदा मेरा आँखा ती काँव्रmामा टक्क गएर अडिन्थे । कतिबेला पूजा सकिएला भन्दै ढुकेर बस्थेँ । धुप, बात्ती बालेर आमाहरू तिजको भाका हालेर नाच्नुहुन्थ्यो ।
‘हातमा सारी काँधमा झारी कमला नुहाउन आयौँ है,
शिवको मन्दिरमा पाकेको केरा त्यही पाए खाँदा हौ शिव ... त्यही पाए खाँदा हौ,
मलाई त कसम लाज लाग्थ्यो आमा त्यसरी नाचेको देखेर । छोरी हाँस्दै भन्छे, ‘कसरी नाच्नुहुन्थ्यो आमा देखाइस्योन मलाई पनि ।’ छोरीको कुरा सुनेर आमाको स्लो मोसनको नृत्य नक्कल गरेर देखाउँछु । छोरी पनि मैले नाचेको जसरी नाच्न थाल्छे ।
केहीबेर पछि फेरि भन्छे, ‘अनि मामु त्यो खोलामा कसरी लैजान्थे त क्यासेट प्लेयर ?’ म हाँस्दै भन्छु, ‘चाहिँदैन थियो त्योबेला क्यासेट प्लेयर । सबै जना आफैँ गीत गाउन खप्पिस् हुन्थे । गीत पनि तत्काल रचना गरेर सुनाउने । नाच्न उस्तै तगडा । खोलाको पानी पनि आमाहरूको नृत्य हेर्न किनारबाट चिहाउँथ्यौँ । दिनभरि नाचेर सबै जना घर फर्किने लहरो हुन्थ्यो ।’
खेतमा रोपेका धान गाँजा पसिसकेर निकै बाक्ला भएर हरिया देखिएका । कतै मकै भाँच्नेबेला भएका । प्रकृति निकै सुन्दर देखिन्थिन् । आकाश उस्तै सफा । बडो विमुग्धकारी देखिन्थ्यो सम्पूर्ण परिवेश, अझ खेतको आलीमा आमाहरू रातै, पहेँलै भएर भएर गीता गाउँदै हिँड्दा कस्तो सुन्दर दृश्य देखिन्थ्यो ।’ एकचित्त भएर छोरी मेरो कुरा सुनेपछि ऊ जान्छे आफ्नो कोठातिर । म पुनः आमा र हजुरआमाको आँगनमा टुप्लिक्क पुग्छु ।
कति उत्साह र उमङ्गले हजुरआमाले तिजको दर खुवाउनुहुन्थ्यो आफ्ना । कति सरल थियो मेरी हजुरआमाको तिज । सबैलाई दर खुवाएपछि हजुरआमालाई दर खुवाउन लालगडबाट माइलोबुवा आउनुहुन्थ्यो । हातमा झोला बोकेर । तारको झोलामा एकराते दही, ढकनी, तारेको आलु, अचार, तामाको मुना, मालभोग केरा र काँव्रmा मगमगाउँदै आइपुग्थे । केही चाहिँदैन थियो अरू विशेष दर खान ।
घरमा पनि बास्मती चामलको चाम्रे, परवरको कवाफ, आलुकाँव्रmोको अचार, दही र मालभोग केरा भएपछि सानदार हुन्थ्यो तिजको दर । आमा, हजुरआमाका चेलीहरू पनि बडो रमाइलो मान्दै खान्थे दरको साधारण परिकार माइतीको पिँढीमा बसेर ।
मैले आमालाई सोधेकी छु, ‘आमा हजुरले कति वर्षदेखि तिजको व्रत लिनुभएको ?’ आमा भन्नुहुन्थ्यो, ‘आठ वर्षदेखि लिएको । बिहे हुँदा जम्मा आठ वर्ष कि त थिएँ । त्यो वर्ष त माइतमै थिएँ ।’ मैले जिज्ञासाको ओठ खोल्दै भने, ‘आमा, उसो भए त व्रत बस्नु परेन होला है हजुरले ?’ आमा दीर्घ स्वास फेर्दै बोल्नुहुन्छ ‘कुरा नगर नानी, समाज कठोर थियो । मेरी आमाले कठोर हुनै प¥यो । धर्म नाश हुन्छ भनेर आठ वर्षकी मलाई पानी खान दिनुभएन अरू त के कुरा गर्नु । बरु म बेहोस हुन लाग्दा पङ्खाले हम्किएर सुताएको सम्झना अझ ताजै छ । कडा थियो संस्कार । बरु तेरी हजुरआमा उदारमना । तिजको राति पूजा सकिएपछि नसक्नेले पानी, दुध, फलफूल खाओ भन्नुहुन्थ्यो । कडाइ थिएन घरमा । तेरा फुपूहरूले पनि व्रत लिने भएकाले हो कि ! छोरीहरू सँगसँगै बुहारीहरूलाई पनि अलि कानुन खुकुलो थियो । १२ वर्षको उमेर घर आएँ । घर आएपछि त हामी शिखरदेखि तल कमला नुहाउन जान्थ्यौँ । नुहाउँदा नुहाउँदै कमलाको पानी टन्न खान्थ्यौँ । दिनभरि बेँसीमै बसेर साँझ पूजा गर्नेबेलामा मात्र शिखर फर्किन्थ्यौँ ।’
आमाले भोगेको समय सुनेर म छक्क पर्छु आज पनि । मलाई अचम्म लाग्छ, हामीलाई पनि व्रत बस्नै पर्छ भनेर कडिकडाउ थिएन । हजुरआमा राणा शासन भोगेर आएकी बडो दृढ नारी हुनुहुन्थ्यो तर पनि हामीलाई लोकतन्त्रको पूर्ण अधिकार दिनुभएको थियो । हजुरीले हामीलाई व्रत बस्न कहिले कर गर्नुभएन । शारीरिक रूपमा कमजोर र असक्तहरूलाई व्रतको नियम खुकुलो थियो । व्रत बस्नेहरूलाई पानी खानु हुँदैन भनेर कहिले पनि भन्नु भएन आमाहजुमा र आमाले । पानी नखाँदा श्रीमान्को आयु बढ्छ भन्ने कुरामा सायद मेरी हजुरआमालाई विश्वास थिएन ।
किनकि मेरी आमाले पनि आठ वर्षको उमेरदेखि निर्जला व्रत बस्नुभएको थियो तर बुवा ३७ वर्षकै उमेरमा परलोक जानु प¥यो । हजुरीले पनि धर्मको कडा नियम पालना गरेको तर हजुरबाको लाससम्म देख्न पाउनुभएन । मेरी हजुरीले परिवारको बागडोर झाँसीकी रानी भएर सम्माल्नुभयो । हजुरी नै हाम्रा लागि योद्धा हुनुहुन्थ्यो । छातीमा पीडाको महाभारत पर्वत नै बोकेर हिँडेका आमा र हजुरआमा मेरा लागि सदैव प्रेरणाका स्रोत भए ।
आमाले पनि कर गर्नु भएन व्रत बस्नै पर्छ भनेर । मैले पनि तिजको व्रत बसिनँ बिहेभन्दा अगाडि । आफँैले बुझ्ने भएपछि सांस्कृतिक पोटो सुन्दर लागेर लिन्छु व्रत तर कष्ट सहेर हैन । आनन्दमा झुमेर । स्वास्थलाई प्राथमिकतामा राखेर ।
भोलि छ हाम्रो तिजको कार्यव्रmम मन त्यसै त्यसै हराएको छ तिजको माहोलमा । तिजको रमझम तीव्र रूपले फैलिएको छ । महिना दिनअगिदेखि नै तिज मौलाएको छ । भ्याइ नभ्याइ छ सबैलाई । उकुसमुकुस छ संस्कृति धान्नेलाई । भरिभराउ छन् पार्टीप्यालेसहरू । बजार तातेको छ तिजको रौनकले । तिजको ऊष्ण वातावरणमा बजारको परिभाषा पनि बदलिएको छ । किनमेलको दायरा पनि विशाल हुँदै छ । खानपानको आयतन पनि व्यापक छ । आमाहरूको भान्सामा मगमगाउँदै पाक्ने दर भाग्न थालेको छ आँगन छोडेर गल्लीगल्लीमा । कुरौनी, सेल, अनरसा, अर्सा, ढकनी, खिर, दही, दुध तिरस्कृत हुँदै छ दर खाने दिनको मध्यरातबाट । शुद्धताको औचित्य सकिएपछि बजारमा दर पनि सोपिस हुँदै छ । दर देखाउने परम्परमा रूपान्तरित हुँदै छ ।
पारिवारिक एकतामा मुस्कुराएको तिज अब बजारु हुँदै गएको छ । प्रतिस्पर्धाको नातामा तिज गाँसिएको छ । जोडिएको छ हैसियत अनुसार तिजको तिक्खर नाताहरू । तिजमा व्यापार हुँदै छ । सौगातको कच्ची पुलमा सम्बन्धको पक्की ढलान गर्न खोजिँदै छ तिजको विभ्रान्त समय । कसले कसलाई महँगो उपहार दिन सक्छ ऊ नजिकको हुन्छ । हैसियतको सौदा बडो डरलाग्दो छ । रगत र कानुनको नाताभन्दा कता हो कता उच्च छ हैसियतको नाता । संस्कृति मनाउने उत्सवमा वैभवको आधारले जोड्दै छ सम्बन्ध । तिजको नौलो बाढी सीमाहीन हुँदै फैलिँदो छ । मान्छेको मन अझ असमेल हुँदै छ । घरको चौकाबाट बग्दै बग्दै बजार पसेको तिज हुँदा खाने र हुने खानेबिच ठुलो खाडल खन्दै छ ।
सीमित वर्गको मनोरञ्जन उग्र हुँदै गएको छ । विवेक त उहिल्यै पोलेर खाइस्क्यो वैभवले । आफ्नो असामाजिक व्यवहारले, बरु छोपोस् सीमान्तकृत वर्गलाई । अल्पसङ्ख्यक जातिहरूलाई । निमुखा वर्गलाई । अन्ध सम्पन्नताले परम्परा र संस्कृतिको माग फेरेको छ । तिजको रङ फेरिएको छ । ताल र राग फेरिएको छ । चुरा, पोते, धागो सारीले मात्र सजिँदैन अब तिजको बजार । नुन पसलदेखि सुन पसलसम्म फैलिएको छ तिजको राक्षसी पैताला ।
आधुनिकता अहिलेको आवश्यकता हो तर मौलिकता नामेट पारेर हाँसिल गरेको आधुनिकताको के अर्थ ! परम्परागत दरको परिकार मात्रले अपूर्ण हुन्छ दरको गरिमा । सरलता त अब दरिद्रताको परिचायक बन्न थालेको छ । उदण्डता नै उत्तम देखिन थालेको छ । आधुनिक दर मध्य राति आमा हजुरआमाको सान्निध्यमा हैन, अब त बार र रेस्टुरेन्टको बन्द कोठामा पुगेको छ । नशाको तालमा तिजको दर लरबरिँदै छ ।
हो नवीनता आजको माग हो । नवीनता प्रगतिपथको सोपान पनि हो तर कहिलेकाहीँ नवीनता नाङ्गो बन्दो रहेछ । आधुनिक हातले संस्कार, संस्कृति र परम्पराको कौपिन खोलेर कुदाउँदै छ । यसरी आँखा बन्द गरेर कुदेको समयले शालीनताभन्दा मूल्यवान ठानिदिन्छ अशोभनीय शृङ्गारिकता । चिन्तनको मस्तिष्क फालेर हिँडेको मान्छेलाई परम्परा भद्दा लाग्न सक्छ । संस्कृतिको शाश्वत जरा नभेट्दा पुरातन कुरा रूढ लाग्न सक्छ । किमार्थ रुचाउँदैन नवीन समूह नियमबद्धतामा । अनुशासन पक्कै बोझिन बन्न पुग्छ निर्वाध दगुरेका पाइतालामा । तिजको परम्परा, संस्कृतिको पाटो, सामाजिक, धार्मिक अर्थ, परिभाषा साथै तिजको वैज्ञानिकताको गरिमालाई मनन गर्ने फुर्सद छैन अब ।
पुरातन तस्बिर सदैव अस्पष्ट हुँदैन । परम्पराका अमूर्त चित्र संदेशमूलक हुन सक्छन् तर धीरता छैन बजारमा । तीव्रता नै आधुनिकताको विशेषता ठहरिएको छ । गतिशीलता नै समयको उडान हो । उपल्ब्धि हो । प्रगति हो । अडिन, रोक्किन र खोतल्न धैर्य चाहिन्छ । तिजको पुरानो तस्बिरभन्दा प्रिय छ तिजको उत्ताउलो चलचित्र ।
तरल पदार्थमा तैरिनु पर्छ दरको रमाइलो नत्र दरको के अर्थ ? के इज्जत । जातले पाएर मात्र खानै हैन अब त बजार रङ्गिन बनाउन खानै पर्छ दरमा तरल पदार्थ ।
जता हे¥यो उतै रातै, पिरै हरियै छ । सारीका भारी घरभरि भए पनि नयाँ सारी किन्नै पर्छ हरेक तिजमा यो नवीन संस्कृति हो । ऋण गरेर पनि घिउ खानै पर्छ शास्त्रले पनि भनेकै छ । अरूको बारेमा सोच्ने समय छैन । आफूमा केन्द्रित हुँनै पर्छ । स्वखुसी नै परम धर्म हो । कर्तव्य हो ।
समाजमा बसेर असामाजिक हुन मज्जाले पाइन्छ, हामी लोकतन्त्रमा विश्वास गर्र्छाैं । हामी पूर्णतयः स्वतन्त्र छौँ । नाचगानको साङ्गीतिक माहोलले रातिको निद्रा लुट्नै पर्छ नत्र तिज कहाँ तिज जस्तो हुन्छ र ! यस्तै यस्तै मनोभावमा रुमल्लिँदै थिएँ हिजैदेखि । म किमार्थ चाहन्नँ मेरा आमा र हजुरआमाको तिज नाङ्गिएको हेर्न ।
म्यासेन्जरमा घण्टी बज्यो ।
‘दिदी लु चाँडै आउनू, सबै जम्मा भइसक्यौँ त ।’
म मातातीर्थतिर लम्किएँ हार्माेनियमा बोकेर, हजुरआमा र आमाको तिज जीवित राख्न... । मधुपर्क