सुदूरपश्चिम, फागुन १९ गते । धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा दुई पक्षका युवाहरूबिच झडप भएको छ । विवादले उग्र रुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबिच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि पनि कुटपिट भएको र प्रहरी सहायक निरीक्षक डबल साउद घाइते हुनुभएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पु¥याएका छन् ।
दुई टोलका युवाबिच पुरानो रिसइवीको निहुँमा आज होली मनाउने क्रममा विवाद उत्पन्न भई उग्ररुप लिएको जनाइएको छ । झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस