• २० फागुन २०८२, बुधबार

अस्ट्रेलियामा कँडेल कपको तयारी

blog

प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, फागुन २० गते । अस्ट्रेलियाको मेलबर्नमा मार्च ७ र ८ तारिख हुने १५औँ कँडेल मन्सल्टेन्सी कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितामा खुला उमेर र ३५ वर्ष माथि (फरेभर योङ्ग) गरी दुई विधामा प्रतिस्पर्धा हुने छ । सिड्नी, क्यानबेरा र एडिलेड लगायत अस्ट्रेलियाका विभिन्न सहरबाट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

खुलातर्फ सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । लिग कम नकआउट प्रणालीका आधारमा सञ्चालन हुने यो प्रतियोगिता अस्ट्रेलियामा नेपाली क्लबबिचको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता मानिन्छ । 

प्रतियोगितामा कुल २२ हजार अस्ट्रेलियन डलर पुरस्कार राशि निर्धारण गरिएको छ । ओपन क्याटेगोरीतर्फ विजेताले १२ हजार डलर र उपविजेताले चार हजार ५०० डलरसहित ट्रफी र मेडल प्राप्त गर्ने छन् । 

‘फरेभर योङ्ग’ विधातर्फ विजेताले २,५०० डलर र उपविजेताले १,००० डलर पुरस्कार पाउने छन् । यस्तै व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

गत वर्ष सम्पन्न १४औँ संस्करणको फाइनलमा यति फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोलले पराजित गर्दै उपाधि जितेको थियो ।