वासिङ्टन, फागुन २० गते । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ, भने साउदी अरब, साइप्रस र ओमानमा मिसन छोड्न अनुमति दिएको छ ।
अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिँदै विज्ञप्ति जारी गरेको जनाइएको छ । यद्देपी राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको बताएको छ ।
यस अघिनै विभागले अमेरिकी सरकारी कर्मचारी र उनीहरूको परिवारका सदस्यलाई सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो । यसैबिच विभागले मध्यपूर्व छोडेर संयुक्त राज्य अमेरिका फर्कन चाहने नागरिकलाई आवश्यक सहयोग गर्न कदम चालेको समेत जानकारी दिएको छ ।
पछिल्लो केही दिनमा नौ हजार भन्दा बढी अमेरिकी नागरिक मध्य पूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायल बाट फर्किने मात्र ३०० भन्दा बढी छन् । जेनेभामा अमेरिकी दूतले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिन पछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ ।
त्यस लगतै इरानले मध्यपूर्वमा जवाबी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइट ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ । रासस/एएफपी