• २० फागुन २०८२, बुधबार

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

blog

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : आइसिसी

काठमाडौँ, फागुन २० गते । आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज (बुधबार) दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।

कोलकातास्थित इडेन गार्डेन्स मैदानमा राति ७:१५ बजे सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउन चाहन्छ ।

यता न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्णविराम लगाउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका सुपर आठको समूह–१ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । न्युजिल्यान्ड समूह–२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ । यसअघि न्युजिल्यान्ड सन् २०२१ को विश्वकप फाइनल खेलेपनि अस्ट्रेलियासँग पराजित भएको थियो ।

यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ । अघिल्लो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले भारतलाई नतिजा सुम्पिएको थियो ।

यी दुई टोलीबिचको विगतको नतिजा भने दक्षिण अफ्रिकाको पक्षमा छ । यसअघि दुई टोलीबिच पाँच वटा टी–२० भिडन्त भएको छ । जसमा दक्षिण अफ्रिकाले सबै खेल जितेको छ ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार साविक विजेता भारत र इङ्ल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । फाइनल भिडन्त आइतबार हुनेछ ।