लमजुङ, फागुन २० गते । लमजुङमा मतपेटिका राख्ने र मतगणना गर्ने स्थल तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थल जिल्ला समन्वय समितिको सभा हलमा तयार पारेको हो ।
सो स्थानमा सुरक्षा चुनौतीलाई मध्यनजर गरेर तारजाली र सिसी टीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले बताउनुभयो । सदरमुकाम बेँसीसहरस्थित जिल्ला समन्वय समितिको सभा हलमा गरिने मतगणना कार्यलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन विशेष सुरक्षा व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृत ढकालका अनुसार मतगणना अत्यन्त संवेदनशील प्रक्रिया भएकाले कुनै पनि किसिमका अवाञ्छित गतिविधि, विवाद वा हस्तक्षेप हुन नदिन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै तारजाली जडान गरिएको हो । सभाहलको स्टेज प्रवेश गर्ने ढोकादेखि भित्र जाने स्थानसम्म आधा भागमा तारजाली लगाइएको छ ।