• ६ भदौ २०८२, शुक्रबार

च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

blog

बिरामीहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुँदै । तस्बिर : सहदेव बसनेत

सहदेव बस्नेत
जाजरकोट, भदौ ६ गते ।
जाजरकोटमा जङ्गलबाट ल्याएका विषालु च्याउ खाँदा एकै गाउँका ५ परिवारका ११ जना बिरामी परेका छन् । एकै पटक बिरामी भएका भेरी नगरपालिका ४ रानागाउँका ५ परिवारका ११ जनाको हाल जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

बिरामी हुनेहरुमा भेरी नगरपालिका ४ बस्ने वर्ष ५० का पदम बुढा उहाँकी श्रीमती ४२ वर्षीया  राधिका बुढा, ४२ वर्षीय लिलबहादुर विक, २४ वर्षीया विमला विक छन् । यसैगरी, वर्ष ३६ का गणेश चँदारा, २९ वर्षीया ज्योति शाह, पानसरा टमटा, १९ वर्षीय प्रकाश पुन, १९ वर्षीय चन्द्रबहादुर विक, लक्ष्मी शाही र प्रेम मल्ल छन् ।

उनीहरु सबैले बिहीबार जङ्गलबाट च्याउ ल्याएर बेलुका खाएको र खाएलगत्तै सबै जनालाई वान्ता आउने तथा बेहोस हुने समस्या देखिएपछि अस्पताल पुर्‍याइएको जनाएका छन् ।

जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा. सुनिल पुनले बिरामीहरुको उपचार भइरहेको र सबै जना हाल खतरामुक्त रहेको जानकारी दिनुभएको छ । बिहीबार राति १२ बजे अस्पताल पुर्‍याइएका उनीहरुको आकस्मिक कक्षमा उपचारपछि सुधार भइरहेको डा. पुनको भनाइ छ ।