• ६ भदौ २०८२, शुक्रबार

लमजुङमा धमाधम कोदो रोपाइँ

blog

मध्यनेपाल–६ काउरे सिम्पानीका किसानहरु कोदो रोप्दै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, भदौ ६ गते ।
पहाडी जिल्ला लमजुङका किसान कोदो रोपाइँमा व्यस्त छन् । धान रोपेर भ्याएपछि जिल्लाका किसान धमाधम कोदो रोपाइँ गर्न थालेका हुन् ।

दोर्दी गाउँपालिका–८ खिन्चोककी मैती घलेलाई पाखो बारीमा कोदो रोप्ने चटारो छ । बारीको मकै थन्काइ सक्दा नसक्दै ब्याडमा कोदोको बीउ हुर्किदै गएपछि कोदो रोप्न भ्याइनभ्याइ भएको उहाँले बताउनुभयो । खेतीपाती गर्ने किसानहरुलाई अहिले खेताला नपाउने समस्या भएको उहाँले बताउनुभयो । त्यस्तै दोर्दी–८ खिन्चोककी दिलकुमारी घलेले आफ्नो कोदो रोपेर सकिएपछि अरुको मेला जान थालेको बताउनुभयो ।

त्यस्तै, बेँसीसहर नगरपालिका–११ चिती बानियापधेराकी कृष्णकुमारी गुरुङले पाखा बारीमा लगाएको मकै थन्काएपछि कोदो रोपाया सुरु गरेको बताउनुभयो । “पाखो बारीमा कोदो रोप्दैछौँ । भदौ अन्तिमसम्म कोदो रोप्न लाग्छ”, गुरुङले भन्नुभयो, “अहिले गाउँका सबै किसान कोदो रोपाइँमा व्यस्त छन् ।”

त्यस्तै, दुधपोखरी गाउँपालिका कोल्कीकी मनिता गुरुङले पनि गाउँका सबैजना किसानहरु कोदो रोप्न व्यस्त भएको बताउनुभयो । त्यस्तै, सुन्दरबजार नगरपालिका ऐँसेलुचौरकी आइतीमाया तामाङलाई पनि अहिले बारीमा कोदो रोप्न भ्याइनभ्याई छ । आइतीमायाले चाहिँ खेताला नपाएपछि अर्मपर्म गरेरै कोदो रोपिरहेको बताउनुभयो ।

यसैगरी, सुन्दरबजार नगरपालिका भोटेवडारकी विमला कुवँर पनि भदौ सुरु भएसँगै कोदो रोपाइँमा व्यस्त हुनुहुन्छ । मध्यनेपाल–६ काउरे सिम्पानीका किसानहरु पनि कोदो रोप्न व्यस्त छन् । मध्यनेपाल–१० थानसिं नेटका किासनहरु पनि पाखोबारीमा कोदो रोप्न व्यस्त रहेको किसानहरुले बताएका छन् । धान रोपेर सकाएपछि कोदोरोप्न थालेका किसानहरुले भदौ महिनाभरी कोदो रोप्ने गर्दछन् ।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार जिल्लाको आठ वटै पालिकामा कोदो रोपाइँ हुन्छ । ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले पछिल्ला वर्षहरुमा कोदो खेतीमा आकर्षण बढ्दै गएको बताउनुभयो । जिल्लामा करिब सात हजार नौ सय १९ हेक्टर क्षेत्रफलमा कोदो रोपाइँ हुने कार्यालयका तथ्याङ्क छ । कोदो खेती बढाउन रैथाने बाली प्रवर्धन कार्यक्रम राखिएको ज्ञान केन्द्र प्रमुख खतिवडाले बताउनुभयो । “कोदो खेती बढाउन रैथाने बाली प्रवर्धन कार्यक्रम छ, तर भदौमा कोदो रोपाइँ हुन्छ । हाम्रो कार्यक्रम भदौपछि हुन्छ”, खतिवडाले भन्नुभयो, “रोपाइँ भएकै बेला किसानलाई सहयोग गर्न पाइएको छैन । पछि किसानहरु लिन आउनुहुन्न, समस्या भएको छ ।”