रलिङ समाचारदाता
रलिङ (हुम्ला), भदौ ६ गते । हुम्लाको चङ्खेली गाउँपालिका–५, टाँके नाकास्थित ङोन्मु तिङतिङमा नेपाल–चीन पक्षबिच उच्चस्तरीय वार्ता गरिएको छ । चीनको डोङ्पा सेनका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली र चङ्खेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलबिच सम्पन्न वार्तामा सीमा क्षेत्रका बासिन्दाले भोगिरहेका समस्या, व्यापारिक अवरोध र विकासका सम्भावनाका विषयमा विस्तृत छलफल भएको हो ।
वार्तामा नेपाल पक्षले अन्य नाकामा पाइँदै आएको सहुलियत सामग्री नेप्कावासीले नपाएको गुनासो औपचारिक रूपमा राखेको थियो । साथै चीनको हरियाचौर (ङोन्मु तिङतिङ) देखि नेपाल–चीन सीमानजिकैसम्म मोटरबाटो बिस्तार गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । चीन पक्षले यस नाकालाई व्यवस्थित बनाउन, स्थानीय बासिन्दालाई सहुलियत सामग्री उपलब्ध गराउन र चङ्खेली गाउँपालिकाको विकासनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । भविष्यमा यस नाकालाई आधिकारिक व्यापारिक नाका बनाउन दुबै देशबिच पहल गर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष शाहीको भनाइ छ ।
कोभिड–१९ का कारण करिब पाँच वर्ष अवरुद्ध रहेको परम्परागत हाट व्यापार पुनः नियमित गर्ने तयारीस्वरूप भएको यस वार्तालाई स्थानीय बासिन्दाले ऐतिहासिक उपलब्धि मानेका छन् । चङ्खेली गाउँपालिका बासिन्दालाई सदरमुकाम सिमकोट हुँदै हिल्सा नाका पुग्न करिब दुई दिन लाग्ने र चिनियाँ सामग्री भित्र्याउनका लागि पनि निकै सकस हुने भएपछि गाउँपालिकाको समन्वयमा पायक पर्ने उक्त नाका खुलाउनका लागि केही दिनदेखि लागिपरेको थियो ।