विष्णुप्रसाद पोखरेल
दमक, भदौ ६ गते । बालबालिकाहरु लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो ।
बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्याउने यो कार्यक्रम कोशी प्रदेशमा नै पहिलो पटक असारदेखि सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा.सिद्धार्थ ठाकुरले बताउनुभयो । पहिलो असार महिनामा १४ सय र साउन महिनामा केही कम आए पनि भदौ महिनामा बिहीबार २८ सय ८७ जना बालबालिकाहरुले लाभ लिएका छन् ।
बिहीबार बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग्दा अस्पताल परिसर साँझसम्म चापले भरिएको उहाँले जनाउनुभयो । ६ महिनादेखि ७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन गराईएको उहाँले जानकारी दिनुभएको छ ।
स्वर्णबिन्दु प्राशन तयार गर्दा स्वर्ण भस्म (सुनको भस्म), शुद्ध मह, गाईको घिउ तथा ब्राह्मी, शंखपुष्पी, वचा जस्ता औषधीय बुटी मिसाइन्छ । शुद्ध सुनलाई आयुर्वेदिक विधिअनुसार भस्म बनाएर प्रयोग गरिने यो औषधी बालबालिकाको स्मरणशक्ति वृद्धि गर्न विशेष उपयोगी मानिने डा. ठाकुरले बताउनुभयो ।
यसले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने, स्मरणशक्ति प्रष्ट बनाउने, बोली विकासमा सहयोग गर्ने, पाचन शक्ति बलियो पार्ने र दीर्घरोगबाट जोगाउने काम गर्ने भएकाले भारतपछि अहिले नेपालमा पनि यो लोकप्रिय बन्दै गएको बताइएको छ । हामीले १५ सय बालबालिकाले सेवा लिने अनुमान गरेकोमा त्यो सङ्ख्या दोब्बर भएको छ, ठाकुरले भन्नुभयो ।