• ६ भदौ २०८२, शुक्रबार

नगरपालिकाबाट एमबीबीएस अध्ययन गर्नेलाई छात्रवृत्ति

blog

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका । तस्बिर पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी   
पश्चिम नवलपरासी, भदौ ६ गते  ।
पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिकाले यस वर्ष चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययन गरिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस (चिकित्सा) अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् ।

नगर शिक्षा ऐनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ । यसका साथै नर्सिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययनरत ३६ जना विद्यार्थी  पनि यसबाट लाभान्वित भएका छन् ।

विभिन्न विषयमा अध्ययनरत विद्यार्थीहरूले न्यूनतम १० हजारदेखि अधिकतम ६० हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थी तथा अभिभावकमा सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । ‘‘रकम ठुलो सानोभन्दा पनि हामीले प्रोत्साहन गरेका हौँ,’’ उहाँले भन्नुभयो । उहाँले मुख्यतः विपन्न र जेहेन्दार विद्यार्थीहरू लाभान्वित होऊन् भन्ने उद्देश्य रहेको पनि स्पष्ट पार्नुभयो ।

आवेदन परेकामध्ये वडा र सम्बन्धित शैक्षिक संस्थाको सिफारिसको आधारमा गरिब, विपन्न, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीहरूको सर्टलिस्टिङ गरी छात्रवृत्ति प्रदान गरिएको हो ।

प्रमुख  प्रशासकीय  अधिकृत प्रकाश  खनालका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको बैंक खातामा सिधै दाखिला गरिनेछ । नगरपालिकाले यस वर्ष छात्रवृत्तिका लागि कुल ६ लाख पाँच हजार खर्च गरेको छ ।