फूलबारी समाचारदाता
फूलबारी (कैलाली), भदौ ६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सञ्चालित गेटा अस्पताललाई तीन सय शय्याको बनाउन आवश्यक तयारी भइरहेको बताउनुभएको छ । प्रेस युनियन कैलालीले धनगढीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले गेटा स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको आयोजना भएको र त्यहाँ तीन सय शय्याको अस्पताल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको हो ।
उहाँका अनुसार तीन सय शय्याको अस्पताल सञ्चालन गर्न बजेट र दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको छ । “तीन सय शय्याको अस्पताल सञ्चालन गर्न गत वर्ष डेढ सय अस्थायी दरबन्दी स्वीकृत गरेका थियौँ,” उहाँले भन्नुभयो, “यस पटक साढे दुई सय दरबन्दी स्वीकृतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाएका छौँ । चिकित्सा शिक्षा अध्यापनका लागि पनि तीन सय शय्याको अस्पताल सञ्चालन भएको हुनु पर्छ । गेटामा तीन सय शय्याको अस्पताल बनाएरै छोडिन्छ ।”
उहाँले सेती प्रादेशिक अस्पताललाई जोडेर गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न खोजिएको तर उक्त योजना सफल हुन नसकेको बताउनुभयो । “प्रदेशको अस्पताललाई सङ्घमा तान्दा सङ्घीयता कार्यान्वयनमा समस्या आउँछ भन्ने कुरा आयो, त्यसैले सेतीलाई सङ्घमा लैजाने कुरा रोकिएको छ,” उहाँले भन्नुभयो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षा मन्त्रालय अन्तर्गत रहेको हुँदा अन्य काम भने आफ्नो मन्त्रालयको जिम्मेवारीमा नरहेको मन्त्री पौडेलले बताउनुभयो । नियुक्तिका प्रक्रिया अगाडि बढाउने काम शिक्षा मन्त्रालयको रहेको उहाँको भनाइ थियो । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्थाबारे बुझ्न धनगढी पुगेका मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि सबै तहका सरकारको आवश्यकता रहेकोसमेत बताउनुभयो ।
एक अर्को प्रसङ्गमा बोल्दै मन्त्री पौडेलले चीन र भारतबिच लिपुलेक नाकालाई व्यापारिक नाका बनाउनेबारे भएको सहमतिप्रति आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “इतिहासकालदेखि लिपुलेक, लिम्पियाधुरा नेपालमा पर्छ । अहिले भारत र चीनले व्यापारिक नाका बनाउने सहमति गर्नु उचित होइन यद्यपि त्रिपक्षीय राष्ट्रको नाका भएकाले यसको निकास कूटनीतिक ढङ्गले निकाल्न जरुरी छ । नाकाको विषयमा दुई मित्रराष्ट्रसँग कुनै तिक्तता नरहने गरी नेपाल सरकारले यस विषयमा कूटनीतिक पहल गर्ने छ ।”
‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ शुभारम्भ
अत्तरिया समाचारदाताका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको छ ।
छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताउनुभयो । प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण विन्दु प्राशन खुवाएर कार्यक्रम शुभारम्भ गर्नुभएको हो ।
नेपालको प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिको पुनर्जागरण गर्दै यसलाई वैज्ञानिक रूपमा विकास गरेर आधुनिक जनस्वास्थ्य प्रणालीसँग जोड्न सकिने बताउँदै उहाँले ‘स्वर्ण विन्दु प्राशन’ हजारौँ वर्ष पुरानो आयुर्वेद विज्ञान हो भन्नुभयो । कार्यक्रममा प्रदेश र स्थानीय तहलाई आयुर्वेद सेवाका लागि बजेट विनियोजन गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।