सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, भदौ ६ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भन्डास विप्परकटेरी निवासी ५२ वर्षीय उर्मिला हायू साउन दोस्रो साता मध्यरातमा घर त्यागेर आफ्ना १६ जनाको परिवारसहित पोखरा पुग्नुभयो । उक्त ठाउँमा कहिल्यै नफर्किने गरी पोखरा पुगेकी उर्मिला पुख्र्यौली थलोमा सडक, शिक्षा, स्वास्थ्य, बिजुली जस्ता आधारभूत सुविधा नभएको र बसोबासका लागि नफापेपछि गाउँ छाड्नु परेको बताउनुहुन्छ ।
गाउँमा भएको सबै सम्पत्ति त्यागेर लोपोन्मुख हायू परिवार नै गाउँबाट विस्थापित भएपछि वडाध्यक्ष रविनकुमार श्रेष्ठले उनीहरूलाई गाउँ फर्काउन पहल गर्नुभयो । उहाँको ठुलै पहलपछि अहिले उक्त परिवार पोखराबाट फर्किएर वडाध्यक्ष श्रेष्ठको सुँगुरेस्थित घरमा बसोबास गरिरहेको छ । उक्त परिवार अब भने भन्डास विप्परकटेरीको घरमा गएर बसोबास नगर्ने अडानमा छ ।
कहिल्यै गाउँ नफर्किने गरी आफ्नो भएको सबै सम्पत्ति त्यागेर पोखरा पुगेको हायू परिवारलाई गाउँमै कुनै एक ठाउँमा जग्गा किनेर घर बनाई बसोबासको व्यवस्था गर्ने सहमति भएपछि उनीहरू फर्किएका वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसो त सुविधा खोज्दै गाउँ छाडेर हिँड्नेमा हायू परिवार एउटा उदाहरण मात्र हो । सिन्धुली जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रबाट सुविधासम्पन्न ठाउँ खोज्दै बसाइँ सर्ने व्रmम अझै रोकिन सकेको छैन ।
स्थानीयस्तरमा सडक, स्वास्थ्य, शिक्षालगायतका आधारभूत सुविधाको अभाव र रोजगारी खोज्दै ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँ सरेर जाने व्रmम बढ्दो छ । जिल्लालाई तीन ठुला राष्ट्रिय राजमार्गले छोए पनि ग्रामीण क्षेत्रमा चाहे अनुसारको बस्ती विकास नहुँदा बसाइँसराइ नरोकिएको स्थानीय बताउँछन् ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा स्थानीय तहले दिएको व्यक्तिगत घटना दर्ता तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा बसाइँ सरी आउनेभन्दा जाने परिवार बढी देखिएका छन् । उक्त अवधिमा बसाइँ सरेर ४०७ परिवार आएका छन् भने ६०८ परिवार अन्यत्र सरेका छन् । बसाइँ सरी जानेमा सबैभन्दा बढी कमलामाई नगरपालिका र दुधौली नगरपालिकाका छन् ।
बसाइँ सरी जानेमा कमलामाई नगरपालिकामा १५९, दुधौली नगरपालिकामा १२१, सुनकोशी गाउँपालिकामा ५३, तीनपाटन गाउँपालिकामा १०२, घ्याङ्लेखमा २५, फिक्कलमा ४४, गोलन्जोरमा ३९, हरिहरपुरगढीमा १३ र मरिणमा ५२ परिवार रहेको सम्बन्धित पालिकाले जनाएका छन् । त्यस्तै अन्यत्रबाट बसाइँ सरेर आउनेमा कमलामाई नगरपालिकामा १९६, दुधौली नगरपालिकामा एक सय, सुनकोशी गाउँपालिकामा १६, तीनपाटनमा ३३, घ्याङ्लेखमा दुई, फिक्कलमा छ, गोलन्जोरमा चार, हरिहरपुरगढीमा पाँच र मरिणमा ४५ परिवार छन् ।
तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगर उक्त पालिकामा बसाइँसराइका व्रmममा आउने भन्दा पनि जाने बढी रहेको बताउनुहुन्छ । “पहिले जिल्ला सदरमुकामबाट पाइने सेवासुविधा गाउँपालिकाबाटै पाइन थालेपछि बसाइँसराइ धैरै रोकिएको छ,” उहाँले भन्नुभयो, “कृषि पेसा र दुःख गरेर जीविकोपार्जन गर्नेहरू चाहिँ गाउँमै बसेका छन् ।”
मुलुक सङ्घीयतामा गएपछि सिंहदरबारको अधिकार गाउँसम्म पुगे पनि विभिन्न सेवा र सुविधा खोज्दै बसाइँ हिँड्ने व्रmम नरोकिएको कमलामाई नगरपालिका–३ निवासी शिक्षक खिलराज सिग्देलले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँमा बसाइँसराइ र युवा पलायनको व्रmम रोकिएको छैन । गाउँघर रुङ्ने वृद्धवृद्धा मात्रै देखिन्छन् । गाउँ वृद्धाश्रम जस्तै भइसकेको छ ।”
सिन्धुली जिल्ला हुँदै बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भएका छन् । ती राजमार्गले छुने बजार क्षेत्र र स्थानीय तहको केन्द्रमा मानिसको चहलपहल बढी देखिए पनि ग्रामीण क्षेत्रका बस्ती सुनसान बन्दै गएका छन् । बसाइँ सरेर अन्यत्र जानेमा पढेलेखेका र जानेबुझेका नै बढी देखिएको स्थानीयको भनाइ छ ।