प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ ६ गते । रौतहटको चन्द्रपुर–२ का शान्ता सिंजाली मगरले समयमा मल नपाउनाले भएको खेतमा पनि राम्ररि खेती गर्न नसकेको गुनासो पोख्नुभयो । कहिले पानीको सङ्कट त कहिले मलको सङ्कट हुने गरेकाले जीविकोपार्जन गर्न धौँ धौँ परेको उहाँले बताउनुभयो ।
चन्द्रपुर–१० का सुनिता साहले तीन तहको सरकार भए पछि किसानलाइ झन् मलको समस्या भएको पीडा सुनाउनुभयो । युरियाको खाँचो रहेको समयमा डिएपी वितरण हुन्छ, डिएपी खाँचो रहेको समयमा युरिया वितरण हुन्छ, किसानको पीरमार्का बुझी दिने कोहि नभएको उहाँको भनाइ रहेको छ । यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् ।
डिलरहरूले लुकेर महँगोमा बेच्ने गरेका कारण दैनिक डिलरसम्म धाउँदा पनि किसान भने खाली हात फर्किनुपरेको राजदेवी –७ का किसान राम विश्वास यादवले बताउनुभयो । गरुडा –१ जयनगरमा रहेको मोमिन कृषि सहकारी संस्थाले महँगो मूल्यमा किसानलाई मल बेच्ने गरेको भन्दै स्थानीयले गौर चन्द्रनिगाहपुर सडक खण्ड अवरुद्ध पारेर आन्दोलन समेत गरे, तर सबै अधिकार स्थानीय सरकारसँग भएकाले किसानको पिडाको सम्बोधन हुन् सकेन ।
किसानलाई मल नदिएर छिमेकी जिल्ला सर्लाहीमा मल पुर्याएको भन्दै किसानहरुले गरुडा –५ मा रहेको जनकल्याण कृषि सहकारी संस्थाको २५ बोरा युरिया र २२ बोरा डिएपि लुटपाट समेत गरे ।
उक्त घटनापछि गरुडा –५ मा मल वितरण हुन सकेको छैन जसको प्रत्यक्ष असर किसानलाई परे पनि स्थानीय सरकार मुकदर्शक बनेको छ । नौ वटा वडा भएको गरुडा नगरपालिकामा २० वटा डिलर रहेको कृषि शाखा प्रमुख यदुनन्दन ठाकुरले बताउनुभयो ।
माग अनुसारको मल नपाएकाले समस्या भएको ओम नमः शिवाय कृषि सहकारी संस्थाका अध्यक्ष संजिव राय यादवले बताउनुभयो । उहाँका अनुसार सरकारी तथ्याङ्कमा दुर्गा भगवतीमा एक हजार छ सय ६६ हेक्टर कृषि योग्य जमिन रहेको छ जुन बास्तविकभन्दा कम रहेकाले समेत रासायनिक मल कम आउने गरेको उहाँको गुनासो छ ।
रौतहटमा ६५ हजार नौ सय ६९ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्याङ्कले देखाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत सरोज मण्डलले धान खेतीको समयमा १० हजार मेट्रिक टन युरिया र ८ हजार मेट्रिकटन डी.ए.पी को आवस्यकता रहेको बताउनुभयो ।
मौलापुर नगरपालिकाका कृषि शाखा प्रमुख रिंकु जयसवालका अनुसार नगरपालिकामा रहेका डिलरहरुको नियमित अनुगमन, स्टक हेर्ने, वितरणदेखि मल ल्याउने समयमा जानकारी लिने जस्ता कार्यले डिलरले बदमासी गर्न नपाएको बताउनुभयो । नगरपालिकाले तोकेको दरभन्दा बढि रकममा मल बेच्ने गरेको यकिन गर्न भरपाइमा उल्लेखित नम्बरमा कहिलेकाही फोन गरेर समेत सोध्ने गरेको उहाँले बताउनुभयो ।
कृषि शाखा प्रमुख जयसवालका अनुसार आएको मलको सदुपयोग गराउन नगरपालिका सक्रिय हुनुको विकल्प नरहेको बताउनुभयो ।
रौतहटमा यस वर्ष रासायनिक मलको अभाव भएको कृषि सामग्री कम्पनि लिमिटेड चन्द्रनिगाहपुरका प्रमुख विवेक पौडेलले समेत स्वीकार गर्नुभएको छ । किसानको माग बमोजिम कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर र साल्ट ट्रेडिङ्ग कम्पनि गौरले मलखादको व्यवस्था नगरे पछि अभाव भएको कृषकको गुनासो रहेको छ ।
लिमिटेडको चन्द्रनिगाहपुरमा एक सय ९६ डिलर रहेको कार्यालयका सूचना अधिकारि गोबिन्द घिमिरेले जानकारी दिनुभयो । त्यस्तै साल्ट ट्रेडिङ्ग कम्पनि गौरसँग रौतहटका लागि एक सय १८ वटा डिलर रहेको कार्यालय प्रमुख बामदेव मिश्राले जानकारी दिनुभयो । रासायनिक मल वितरण निर्देशिका अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहने गर्छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहन्छन् । सो समितिलाइ बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट गर्ने, सुपरीवेक्षण र निरीक्षण र कारबाही गरी खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशले जिल्लागत खेतीयोग्य जमिनका आधारमा जिल्ला तथा स्थानिय तहको रासायनिक मलको कोटा निर्धारण गर्ने गरेको मन्त्रालयका कृषि प्रसार अधिकृत तथा मधेश प्रदेश मल वितरण व्यवस्थापन समितिका सदस्य सचिव अमर चन्द्र मण्डलले जानकारी दिनुभयो । स्थानीय तहलाइ पाउने कोटामा पालिका उप प्रमुख वा उपाध्यक्ष संयोजक रहेको समितिले आफ्ना पालिकाका सहकारी संस्थालाई रासायनिक मलको कोटा निर्धारण गर्ने व्यवस्था रहेकोे छ ।