पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म दक्षिणमा रहेको इन्डियन प्लेट र उत्तरमा रहेको युरेसियन प्लेट एकआपसमा टकराएकाले यो सम्पूर्ण क्षेत्र भूकम्पका दृष्टिले संवेदनशील मानिन्छ । नेपालले यो जुधाइको क्षेत्रको एक तिहाइ लम्बाइ ओगट्ने भएकाले अन्य मुलुकको तुलनामा नेपाल भूकम्पीय दृष्टिले अझ बढी जोखिमयुक्त मानिएको हो । सबै जसो प्रकोप छोटो समय आउने भए पनि त्यसको असर भने लामो समयसम्म पर्ने हुन्छ । त्यसमा पनि भूकम्पको त केही सेकेन्ड वा मिनेट मात्रको धक्काले धेरै क्षति हुने गर्छ ।
हाम्रो देशको भौगोलिक बनावट र भौगर्भिक अवस्थिति पनि विभिन्न प्रकारका प्राकृतिक प्रकोपको कारक हो भन्न सकिन्छ । प्रत्येक वर्ष जसो भूकम्प, बाढी, पहिरो, हिमताल विस्फोट जस्ता प्राकृतिक प्रकोपलगायत अन्य विविध प्रकारका प्रकोपको मारमा हामी पर्ने गरेका छौँ । पछिल्लो समय लेन्डे खोलामा आएको बाढीका कारण रसुवागढी क्षेत्रमा धेरै जनधनको क्षति भयो । बर्सेनि हामीले यस प्रकारका विपत्को सामना गर्नु परिरहेको भए पनि विपत् प्रतिकार्यको प्रभावकारी तयारी नगरेकाले हामीले धेरै क्षति बेहोर्नु परिरहेको छ ।
यहाँ स्मरण गर्न खोजिएको विशेष भूकम्प २०४५ भदौ ५ को उदयपुर जिल्लाको मुर्कुची आसपास केन्द्रविन्दु भएको भूकम्पको हो । विनाशकारी नै भए पनि कुनै कुनै घटनाले सिर्जना गर्ने चेतका कारण कहिलेकाहीँ त्यस्ता घटनालाई विशेष मानिन्छ । हुन त कुनै पनि प्रकारको प्रकोप राम्रो होइन अझ धेरै जनधनको क्षति पु¥याउने भूकम्प आफैँमा राम्रो हुँदै होइन र विशेष वा महìवपूर्ण मान्न पनि सकिँदैन । प्रकोपमा पूर्वानुमान गर्न नसकिने मात्र होइन प्रभावकारी पूर्वचेतावनीसमेत दिन नसकिने र केही सेकेन्ड मात्रको धक्काले धेरै जनधनको क्षति हुने र कहिलेकाहीँ यस्ता भूकम्पका कारण अन्य सहायक प्रकोप जस्तै आगलागी, पहिरो, हिमताल विस्फोट, हिम पहिरो इत्यादि समेत उत्पन्न भई थप क्षति हुने भएकाले भूकम्पलाई अन्य प्रकोपको तुलनामा बढी विनाशकारी प्रकोप मानिन्छ ।
भूकम्पीय जोखिम क्षेत्रमा रहेको भए पनि यहाँ निर्माण गरिएका अधिकांश घर तथा भवन रात बिताउने तथा ओत लाग्ने उद्देश्यले स्थानीय रूपमा उपलब्ध सामग्रीको उपयुक्त संयोजन नगरी निर्माण गरिएका कारण भूकम्प प्रतिरोधी छैनन, जसले जोखिम थप बढाएको छ । चाहेर वा नचाहेर, हाम्रो जस्तो गाउँ नै गाउँले भरिएको र कमजोर आर्थिक अवस्था तथा जनचेतनाको कमीका कारण भवनहरू भूकम्प प्रतिरोधी बनाउन नसक्दा वा नबनाउँदा धेरै जनधनको क्षति हुने गरेको तथ्य २०८० कात्तिकमा गएको जाजरकोट भूकम्पले प्रमाणित गरेकै छ । त्यसै गरी सहरी क्षेत्रका भवनसमेत भवन संहिता पालना गर्न कडाइ नगरिएको वा केही लगानी कम हुने लोभले भवन संहिता छलेर निर्माण गर्ने प्रवृत्ति रहेको वा गरिएका कारण धेरै जनधनको क्षति हुने गरेको पाइन्छ । एकातर्फ हाम्रा बस्तीहरू अत्यन्त अस्तव्यस्त, अव्यवस्थित र मापदण्ड पालना नगरी निर्माण गरिएका तथा सहरका घनाबस्तीका बिच बिचमा सञ्चालनमा रहेका पेट्रोल स्टेसनका कारण थप जोखिम बढेको छ भने अर्कोतर्फ जुनसुकै बेला आइपर्ने प्रकोपको सामना गर्न प्रभावकारी पूर्वतयारी वा प्रतिकार्य नगरिएका वा सावधानी नअपनाइएका कारण भूकम्पलगायतका प्रकोपबाट धेरै क्षति हुने गरेको यथार्थ कसैसँग लुकेको छैन ।
उदयपुरको मुर्कुची आसपास केन्द्रविन्दु भएको २०४५ सालको भूकम्पले धेरै विनाश र हताहती त ग¥यो नै तर सँगसँगै त्यस भूकम्पले हामीलाई यस प्रकारका भूकम्पबाट हुने हताहती क्षति र विनाश कम गर्ने सम्बन्धमा केही गर्नैपर्ने चेत खुलाइदियो वा विशेष शिक्षा दियो । यसअघि २०३७ साउन १४ गते पश्चिम नेपालको बझाङ केन्द्रविन्दु भएको भूकम्पले दार्चुला, बैतडी, बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा गरी सयभन्दा बढी जनाले ज्यान गुमाएको उल्लेख भए पनि हताहती र जनधनको क्षति कम गर्न कुनै पहल भएको पाइँदैन ।
बझाङ भूकम्प गएको करिब आठ वर्षपछि सोही भूकम्प बराबरकै मानको पूर्वी नेपालको उदयपुर जिल्लाको मुर्कुची आसपास केन्द्रविन्दु भएको भूकम्पले बझाङ भूकम्पको तुलनामा बढी क्षति ग¥यो । २०४५ सालको त्यो भूकम्प, जसले पूर्वी नेपालमा विनाश र हताहती मात्र गरेन, यसरी बारम्बार जाने भूकम्पबाट हुने जनधनको क्षति कम गर्न केन्द्रविन्दुको यथार्थ पहिचान गरी उद्धार कार्यमा सहयोग पु¥याउन नेपालमा भूकम्पीय सञ्जाल विस्तार गर्नुपर्ने र भूकम्प बारम्बार आइरहने क्षेत्र भएकाले भविष्यमा भूकम्पबाट हुने जनधनको क्षति कम गर्न भवन संहिता निर्माण गरी सोही मापदण्ड अनुसार संरचना बनाउन झक्झक्याएको वा चेत खुलाएको पहिलो भूकम्प भएको कारण यस भूकम्पलाई विशेष भूकम्प भन्न सकिन्छ । उदयपुरको मुर्कुची आसपास केन्द्रविन्दु भएको त्यस भूकम्पबाट ७२१ जनाको हताहती भएको थियो ।
२०४५ सालको भूकम्पले गरेको विनाशले झकझक्याएपछि भूकम्पीय जोखिममा रहेको नेपालमा निर्माण गरिने भवन वा संरचनाहरू भूकम्पले असर कम गर्ने खालको बनाउनु पर्छ भन्ने उद्देश्यले सन् १९९३ मा तयार गरिएको भवन संहिता अनुसार भवन निर्माण गर्नुपर्ने नियम सुरुमा धरान र ललितपुरमा लागु गरिएको भए पनि बाध्यात्मक नहुँदा प्रभावकारी हुन नसकेको महसुस हुन्छ । भूकम्पका कारण केन्द्रविन्दु आसपास नै सामान्यतया बढी क्षति हुने भएकाले उद्धार कार्यका लागि वास्तविक केन्द्रविन्दु पत्ता लगाउनु जरुरी हुन्छ । यसका लागि भूकम्पको पूर्वानुमान नहुने भएकोले निरन्तर निगरानी गर्नु पर्छ जसका लागि भूकम्प मापन केन्द्र र भूकम्पमापन स्टेसनहरू २४ सै घण्टा सञ्चालन गर्नुपर्ने हुन्छ ।
नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको र समय समयमा मझौला, ठुला तथा महाभूकम्पले विनाश गरेकाले अझै सुदृढ र प्रभावकारी पूर्वतयारी गर्न तथा जनचेतना जगाउन आवश्यक छ । हामीमा भूकम्पका धक्का महसुस नगर्ना साथ वा विनाश नभएमा छिट्टै बिर्सने प्रवृत्ति छ । पूर्वानुमान गर्न नसकिने र जुनसुकै बेला आउन सक्ने भएकाले भूकम्पको धक्का आएको समयमा मात्र नभएर सधैँ सचेत र चनाखो हुने तथा पूर्वतयारी गर्ने हो भने यस प्रकारका प्रकोपबाट हुने जनधनको क्षति धेरै हदसम्म कम गर्न सकिन्छ । जुन विनाशपछिको पुनर्निर्माणको खर्च र पीडाभन्दा धेरै लाभदायी हुन्छ ।