• ५ भदौ २०८२, बिहिबार

अन्तर्राष्ट्रिय गतिविधि

युद्धविराम होइन, शान्ति सम्झौता

blog

पश्चिमा सहयोगको भरमा युद्ध जित्न सक्ने आधार नदेखिएकाले युक्रेनले रुससँग सम्झौता गर्नुपर्ने अवस्था आएको छ । त्यसैले अब युद्ध जति लम्बिँदै जान्छ बढी क्षति युक्रेनले नै बेहोर्नुपर्ने भएकाले पनि वार्ताद्वारा युद्ध अन्त्य गर्नेतिर लाग्नु युक्रेनका लागि हितकर हुने देखिन्छ । शक्तिशाली रुससँग युक्रेन लामो समयसम्म युद्ध गर्ने अवस्थामा थिएन । पश्चिमा मुलुकहरूले हतियार र आर्थिक सहयोग दिइरहेकाले अहिलेसम्म युद्ध लम्बिएको हो ।

विगत साढे तीन वर्षदेखि युद्ध गरिरहेका रुस र युक्रेनबिच अब युद्धविरामभन्दा शान्ति सम्झौता अनिवार्य भएको छ । युद्ध लम्बिँदै जाँदा त्यसको असर दुई देशमा सीमित रहेन । युद्धको असर विश्वव्यापी परेको छ । अब युद्धविरामले मात्र दिगो समस्या समाधान गर्न नसक्ने भएपछि शान्ति सम्झौता नै उपयुक्त विकल्प हुने भएको छ । यसका लागि प्रयास जारी छ । 

अमेरिकाको अलास्का राज्यमा अगस्ट १५ मा युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबिच शिखर वार्ता भयो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले साढे तीन घण्टा शिखर वार्ता गर्नुभयो । यो प्रयासबाट रुस–यक्रेन युद्धविरामबारे सहमति गर्ने अपेक्षा गरिएको थियो । वार्तामा युद्धविरामबारे सहमति भएन । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भएको २४ घण्टामै युद्धविराम गराउने घोषणा गर्नुभएको थियो । 

दोस्रो पटक निर्वाचित भएपछि टम्पले पुटिनसँग गर्नुभएको पहिलो प्रत्यक्ष भेटवार्तामा जारी युद्ध अन्त्य गर्ने विषयमा गम्भीर छलफल भयो । देखिने गरी कुनै सहमति भएन । ट्रम्प र पुटिनबिचको वार्ता साढे तीन घण्टामा सकियो । बन्द कोठामा भएको वार्तामा ट्रम्पसँगै मार्को रुबियो र विट कफका साथै केही अन्य अधिकारी हुनुहुन्थ्यो । रुसी पक्षमा पुटिनसँगै सर्गेई लाभरोभ, एन्टोन सिलुआनोभ र किरिल दिमित्रिभ सहभागी हुनुभएको थियो । वार्तामा युद्ध अन्त्य गराउने विषयमा घनीभूत छलफल भए पनि दुवै पक्षबिच ठोस सहमति भने हुन सकेन । वार्ताअघिको वातावरण पूरै फरक थियो । राष्ट्रपति ट्रम्पले पुटिनलाई रातो कार्पेट बिछ्याएर स्वागत मात्रै गर्नुभएन सम्मानित पाहुनाको व्यवहार गर्नुभयो । 

वार्तापछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताउनुभयो । “केही प्रगति भएको छ । धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,” ट्रम्पले भन्नुभयो । के–के बुँदामा सहमति भयो भन्नेबारे भने उहाँले खुलाउनुभएन । पुटिनले पनि केही बुँदामा सहमति भएको बताउनुभयो तर त्यो सहमति के हो भन्नेबारे केही बताउनुभएन । पुटिनले भन्नुभयो, “हामी के अपेक्षा गर्छौं भने किभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिने छन् र अवरोध खडा गर्ने छैनन् ।” वार्तापछिको पत्रकार सम्मेलनमा दुवै नेताले पत्रकारका प्रश्नको सम्बोधन गर्नुभएन । दुवै नेता आफ्ना कुरा राखेर मञ्चबाट निस्कनुभयो । 

पुटिनको अडान 

यो भेट सन् २०१९ पछिको पहिलो हो । ट्रम्प र पुटिनले सन् २०१९ पछि पहिलो पटक सँगै भेटवार्ता गर्नुभएको हो । यस पटक ट्रम्प पुटिनप्रति निकै नम्र देखिनुभयो । पुटिनको स्वागतदेखि पत्रकार सम्मेलनमा देखाएको नम्रताले उहाँ पुटिनलाई चिढाउन चाहनुहुन्न भन्ने प्रस्ट हुन्छ । दशकपछि अमेरिकी भूमिमा पुगेका पुटिनलाई लडाकु विमान र रातो कार्पेटद्वारा स्वागत गरिएको थियो । त्यस्तै वार्तापछिको पत्रकार सम्मेलनमा पनि पुटिनलाई पहिले बोल्ने दिइएको थियो । पुटिनले यो अवसरको सदुपयोग गर्दै युक्रेनसँगको युद्धबारे आफ्नै दृष्टिकोणबाट प्रस्तुत गर्नुभयो । 

पुटिनले रुस–युक्रेन युद्धको कारणबारे व्याख्या गर्नुभयो । पत्रकार सम्मेलनमा पुटिन बोलिरहँदा ट्रम्प मुस्कुराइरहनुभएको थियो । वार्ताअघि भने ट्रम्प रुसप्रति आक्रामक देखिनुभएको थियो । गत जुलाईको भाषणमा भने उहाँले युद्धविराम नभए रुसलाई नराम्रो हुने भन्नुभएको थियो तर यस पटक उहाँ त्यसरी प्रस्तुत हुनुभएन । भेटमा भने शान्त देखिनुभयो ।

ट्रम्पले यति धेरै रिझाइरहँदा पनि पुटिनले आफ्नो अडान भने छाड्नुभएन । पुटिनले युद्धविरामका लागि चार अडान राख्नुभएको छ । युक्रेनको केही भूभाग रुसी नियन्त्रणमा जाने, युक्रेनको सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने पक्षमा पुटिन उभिनुभयो । बर्सौंदेखि पश्चिमा मुलुकहरूबाट एक्लिएका पुटिनले वार्ताका लागि अमेरिका पुग्नुअघि नै जित सुनिश्चित गर्नुभएको थियो । वार्ताबाट फर्किंदा पनि उहाँ नयाँ शक्ति आर्जन गरेर फर्किनुभयो । उहाँले ट्रम्पसँगको सम्बन्धलाई पनि थप मजबुत बनाउनुभयो । 

पत्रकार सम्मेलनकै क्रममा ट्रम्पले फेरि भेट्ने भन्दै गर्दा पुटिनले अर्को भेट मस्कोमा हुनुपर्ने बताउनुभएको थियो । यसमा ट्रम्प सकारात्मक देखिनु भएको थियो । उहाँले भन्नुभयो, “ओहो, रोचक कुरा ! यसमा मेरो अलिकति आलोचना होला तर यस्तो हुन सक्छ ।” ट्रम्प रुस जानु हुने वा नजाने त्यो समयले बताउला । उहाँ रुस जानु भने यो पक्कै ऐतिहासिक हुने छ । अमेरिकाका राष्ट्रपतिले पछिल्लो समय सन् २०१३ मा रुस भ्रमण गर्नुभएको थियो । तत्कालीन राष्ट्रपति बाराक ओबामा जी २० को सम्मेलनमा सेन्ट पिटर्सबर्ग पुग्नुभएको थियो । 

मारमा जेलेन्स्की

पुटिनसँगको भेटलगत्तै ट्रम्पले जेलेन्स्कीलाई अमेरिका आउन निम्तो दिनुभयो । पुटिनसँगको वार्ता सक्किएलगत्तै ट्रम्पले जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको थियो । वासिङ्टन फर्कंदै गर्दा ट्रम्पले एयर फोर्स वानबाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गर्नुभएको थियो । जेलेन्स्कीसहित युरोपेली नेताहरू अगस्त १८ (सोमबार) अमेरिकामा जानुभयो । जेलेन्स्कीसहित युरोपेली नेताहरूले ट्रम्पसँग वार्ता गर्नुभयो । वार्ता सकारात्मक भयो । अब केही दिनमै पुटिन र जेलेन्स्कीबिच वार्ता हुनेछ । यसअघि गत फेब्रुअरीमा पनि जेलेन्स्की अमेरिकाको निम्तोमा ह्वाइट हाउस जानुभएको थियो । त्यति बेला जेलेन्स्कीप्रति ट्रम्पले कठोर व्यवहार गर्नुभयो ।

सन् २०२२ को फेबु्रअरी २४ देखि जारी रुस–युक्रेन युद्धमा सबैभन्दा मारमा युक्रेन छ । जेलेन्स्कीले युद्धविराम गर्न चाहनुभएको छ तर भूमि गुमाउन चाहनुभएको छैन । पुटिन भने भूभाग ओगटेर युद्ध रोक्ने अडान लिएर बस्नुभएको छ । विश्वकै सबैभन्दा शक्तिशाली देशका राष्ट्रपतिसँग एउटै मञ्चमा देखिने मौकासँगै पुटिनले भूराजनीतिक चर्चामा आउने मौका पनि पाउनुभयो । गत केही महिनामा पश्चिमा जगत्ले एकपछि अर्को समयसीमा दिए पनि ती त्यत्तिकै बिते । ती चेतावनी वास्तविकतामा परिणत भएनन् । पुटिनलाई हमला जारी राख्न यसले निम्तो दिने युक्रेनीहरू ठान्छन् । अलास्का वार्तामा ठुलो प्रगति हुन नसकेकोलाई पनि उनीहरूले यही सन्दर्भमा हेरेका छन् । 

युक्रेनसँगको जारी युद्धले अन्तर्राष्ट्रिय जगत्मा आलोचित बने पनि राष्ट्रपति पुटिनको मुलुकभित्र भने शक्ति झन् बढेको छ । युद्धको बिचमा चुनाव गराएर पुटिनले आपूmलाई सन् २०३० सम्म सत्तामा रहने सुनिश्चित गर्नुभयो । यसअघि सन् २०१८ मा निर्वाचित भएका पुटिनले २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोधन गरी आफू सत्तामा रहिरहन मार्गप्रसस्त गर्नुभएको थियो । यस पटकको चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयप्रतिको जनमतसङ्ग्रहका रूपमा पनि हेरिएको थियो । 

युक्रेनसँगको युद्धसँगै रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर राष्ट्रपति पुटिनमाथि पर्ने अमेरिकालगायतका पश्चिमा देशको अनुमान सत्य सावित भएन । युद्धको असर सोचे जस्तो नदेखिएपछि उनीहरूले युद्ध अन्त्यको बाटो खोजेको देखिएको छ । युक्रेनसँगको युद्ध अझै लम्बिँदै गयो भने रुस चीनसँग अझै निकट हुन सक्ने अमेरिकालाई चिन्ता थपिएको छ । त्यसैले पछिल्लो समय युरोपका कतिपय देश रुस–युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने पक्षमा देखिएका छन् ।

युक्रेनमा गत मार्च ३१ मा राष्ट्रपतीय चुनाव हुनुपर्ने थियो तर राष्ट्रपति जेलेन्स्कीले चुनाव गराउन सक्नुभएन । उहाँका लागि चुनाव सहज छैन । जेलेन्स्कीका कारण युद्धमा १८ प्रतिशत भूभाग गुमाएको र युद्ध जित्ने सम्भावना नदेखिएको युक्रेनी मतदाताले उहाँलाई विश्वास गर्ने आधार कमजोर बनेको छ । त्यहाँ युक्रेनलाई निकास दिनसक्ने नेतृत्वको खोजी भएको छ । पछिल्ला दिनमा युक्रेनलाई पश्चिमा सहयोग कम हुँदै जानुले रुसका लागि थप आक्रामक बन्न सहज भएको छ । युद्धमा युक्रेनतर्फ भने सेना साथै गैरसैनिक नागरिकसमेत धेरै मारिएका र राजधानी किभलगायतका सहरमा व्यापक भौतिक क्षति भएको, धेरै नागरिक विस्थापित भएकाले जेलेन्स्कीप्रति जनता विश्वस्त हुन सकेका छैनन् । पश्चिमा सहयोगको भरमा युद्ध जित्नसक्ने आधार नदेखिएकाले युक्रेनले रुससँग सम्झौता गर्नुपर्ने अवस्था आएको छ । त्यसैले अब युद्ध जति लम्बिँदै जान्छ बढी क्षति युक्रेनले नै बेहोर्नुपर्ने भएकाले पनि वार्ताद्वारा युद्ध अन्त्य गर्नेतिर लाग्नु युक्रेनका लागि हितकर हुने देखिन्छ ।  

शक्तिशाली रुससँग युक्रेन लामो समयसम्म युद्ध गर्ने अवस्थामा थिएन । पश्चिमा मुलुकहरूले हतियार र आर्थिक सहयोग दिइरहेकाले अहिलेसम्म युद्ध लम्बिएको हो । युक्रेनले युरोपेली सङ्घ(इयु) र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)को सदस्यता लिने तयारी गरेपछि रुष्ट भएको रुसले आफ्नो सुरक्षा खतरामा पर्ने भएकाले दुवै सदस्यताबाट रोक्न युक्रेनमाथि आक्रमण गरेको हो । सुरुमा यो कारबाही धेरै दिन नचल्ने र छिटै टुङ्गिने अपेक्षा गरिएको थियो । पश्चिमा मुलुुकको आर्थिक तथा हतियार सहयोगले युक्रेन अहिलेसम्म युद्धमा टिकेको छ । पश्चिमा मुलुकको सहयोग घट्ने क्रमका रहेकाले अब युक्रेनलाई युद्धमा टिकिरहन सहज छैन । यो स्थितिमा युद्ध लम्बिनु भनेको युक्रेनलाई पूर्ण रूपले तहसनहस बनाउनु मात्र होइन रुसमा विलय गराउन सक्ने आधार बन्न सक्छ । त्यस्तो अवस्था आयो भने रुसको चीन, उत्तर कोरिया र इरानसँगको निकटता अरू बढ्ने र नेटोको पूर्वी युरोप विस्तार योजनालाई ठुलो चुनौती खडा हुनेछ । 

विश्वकै ठुलो राष्ट्र रुससँग धेरै हतियार र ठुलो सङ्ख्यामा सेना रहेकाले सानो राष्ट्र युक्रेन एक्लै लामो समयसम्म युद्ध गर्नु भनेको मुलुकलाई पूर्ण रूपले ध्वस्त बनाउनु मात्र हुने छ । विदेशीको आर्थिक र हतियार सहयोगमा युद्ध जारी राख्नु कुनै हिसाबले पनि युक्रेनलाई फाइदा भएन । छिमेकी रुससँग वार्ता गरी दुवैलाई मान्य हुने निकास छिटो खोज्नु नै अहिलेको आवश्यकता हो । अहिलेको अवस्था के छ भने पर्याप्त हतियार र सेना रहेको रुस लामो समयसम्म युक्रेनसँग युद्ध गर्न सक्छ । बाह्य हतियार र आर्थिक सहयोगबिना युक्रेनले रुससँग प्रतिवाद गरिरहन गाह्रो छ । सोभियत सङ्घको विघटनभन्दा चार महिनाअघि स्वतन्त्र भएको युक्रेन रुससँग टाढिएर युरोपतिर ढल्किन खोज्दा यो दुर्गति भएको हो । 

अबको निकास 

वास्तविकता त के हो भने सोभियत सङ्घको विघटनपछि लगभग टाट पल्टिन लागेको रुस पुटिन नेतृत्वले पुनः शक्तिशाली बन्यो । यसैले रुसमा उहाँको प्रभाव राम्रो छ । रुसलाई पुनः शक्तिशाली बनाउन पुटिनको योगदान महìवपूर्ण रहेको सन्दर्भमा उहाँले युद्धको होइन शान्तिको बाटो समाएर युक्रेनसँगको विवाद शान्तिपूर्ण समाधान गर्नुपथ्र्यो । युक्रेनलाई मनाउन नसक्नु पुटिनको पनि कमजोरी हो तैपनि युद्धमा होमिएको अहिलेको अवस्थामा युद्धबाटै छिनोफानो गर्ने उहाँको सोचलाई जेलेस्कीकै कच्चापनले थप मलजल गरेको छ । यो वास्तविकतालाई बुझेरै अमेरिकाका राष्ट्रपति ट्रम्पले युद्धविरामको सट्टा शान्ति सम्झौता गराएर रुस–युक्रेन युद्ध अन्त्य गराउन विशेष प्रयास गर्नुभएको छ । उहाँले युक्रेनलाई इयु र नेटोको सदस्यता नलिन दबाब दिनुभएको छ । युक्रुनको सुरक्षा ग्यारेन्टी गर्दै रुसको माग सम्बोधन गरेर यो युद्ध अन्त्य गराउनु सबैभन्दा उत्तम उपाय हो । 

 

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।