• १२ साउन २०८१, शनिबार

मङ्गलमय शुभकामना (सम्पादकीय)

blog

आज नयाँ वर्ष २०७९ आरम्भ भएको दिन । विक्रम संवत् २०७८ ले हामीबाट बिदा लिएको छ । नयाँ वर्ष आजैबाट आरम्भ भयो । नयाँ वर्ष आरम्भ केवल भित्तेपात्रोको पाना पल्टनु मात्र होइन । नयाँ वर्ष जीवन हो र प्रतिबद्धता पनि । जीवन बुझ्न ऋतुचक्र बुझ्नु आवश्यक हुन्छ । यतिबेला वसन्तको पाउला फिरेको छ । उजाड जङ्गलसमेत हरियाली पलाएर प्रकृतिको वयलाई अर्थपूर्ण बनाएका छन् । बगैँचामा ढकमक्क फूल फुल्दै र झुल्दै छन् । माहुरीका लागि छानीरोजी रसहरू पउल हुँदै छन् । पुतलीहरू वसन्तका रङ्गमा रमाउँदै छन् । प्रकृतिको यो विशाल आँचलमा नयाँ वर्ष २०७९ ले हामी नेपालीलाई स्वागत गरेको छ ।

विक्रम संवत् हामी नेपालीका लागि समयचक्रको अविरल यात्रा हो । हाम्रो आधिकारिक पात्रो हो । हाम्रा राजकीय र व्यावहारिक सबै कार्यव्यवहार यसै संवत्अनुसार गरिन्छ । गएको वर्ष २०७८ असाध्य जटिल अवस्थामा आरम्भ भएको थियो । कोरोना (कोभिड–१९) महामारीको मध्यरात जस्तै थियो । कोरोनाविरुद्धको खोप पाउनु आकाशको ‘फल आँखा तरी मर’कै अवस्थामा थियो । सिंहदरबारमा बस्नेहरूले खोपभन्दा बेसार र अम्बाको पात आदिमा जोड दिइरहेका थिए । कोरोनाले ज्यान थला पार्दै थियो । कतिको ज्यान लिइरहेको थियो । बन्दाबन्दीको त्रासले अर्थतन्त्रमा कालो बादल मडारिरह्यो । रोजगार गुमे । उत्पादन तहसनहस भयो । शासकहरू जनजीवनप्रति संवेदनशील भएनन् । शासकीय प्रवृत्ति कहिले प्रतिनिधिसभा अकारण भङ्ग गर्ने त कहिले पार्टीभित्रको अन्तरविरोधलाई सडकमा पोख्ने यत्नमा लागिरहे ।

सन् २०१९ को अन्तिम घडीतिर चीनको वुहानमा उम्रिएको कोरोनाविरुद्ध संसारमै खोप व्यापक भए पनि नेपालमा कमिसनकै खेलमा चाँडो खोप आउन सकेन । राजनीतिक खिचातानीले सार्वभौम प्रतिनिधिसभा निशानीमा प¥यो । दोस्रोपटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित ग¥यो । प्रतिनिधिसभा पुनस्र्थापना मात्र भएन, तत्कालीन विपक्षी दल नेपाली काँग्रेससँगै पाँचदलीय गठबन्धनले वैकल्पिक सरकार दिन गरेको प्रयासलाई राष्ट्रपतिले अस्वीकार गरे पनि सर्वोच्च अदालतले मार्गप्रशस्त ग¥यो । असार २९ गते नेपाली काँग्रेसका सभापति तथा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्यो । असाध्य विषम परिस्थितिमा बनेको सरकारले यावत् चुनौती सामना गर्दै अवसरमा बदल्ने प्रयास थाल्यो । प्रधानमन्त्री देउवाले कार्यकारी जिम्मेवारी लिनेबित्तिकै सरकारको पहिलो, दोस्रो र तेस्रो जिम्मेवारी कोरोनाविरुद्ध खोप नै भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीको प्रतिबद्धता समयमै कार्यान्वयनमा आयो । कोरोनाविरुद्ध पर्याप्त खोप आउन थाले । खोपको पहुँच व्यापक बन्दै गएपछि नागरिकमा बाँच्ने आशा पलायो । अर्थतन्त्रमा बन्दाबन्दीको मुङ्ग्रो उज्याउनु परेन । अर्थतन्त्र बिस्तारै लयमा फर्कन थाल्यो । सरकारले यो अवधिमा सबैजसो नागरिकमा कोरोनाविरुद्धको खोप पु¥याइसकेको छ । फलस्वरूप जनजीवन लयमा फर्किएर मुलुक निर्वाचनको महायज्ञमा होमिएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सबै तयारी अगाडि बढिरहेका छन् । निर्वाचन आयोगले गर्नुपर्ने तयारीलाई अग्रता दिएको छ । राजनीतिक दलहरू आ–आफ्ना रणनीति बनाएर जनस्तरमा पुगिसकेका छन् । स्थानीय तह नागरिकको घरआँगनको सिंहदरबार भएकाले उम्मेदवारहरू चुनावी कार्यसूची तयार गर्दै मतदातामाझ छन् । निर्वाचनको माहोल अपूर्व ढङ्गले अगाडि बढ्दासमेत कतिपयलाई अझै निर्वाचन सर्छ र टर्छ भन्ने बोली बोल्ने बानी हटेको छैन । त्यस्तो बेतुकका बोली अब आफैँ असान्दर्भिक भएर जाने स्पष्टै छ ।

विगतका यी सबै आरोह–अवरोहको सत्यतथ्य र निष्पक्ष सूचना सम्पे्रषण गर्ने पत्रकारिताको धर्म र मर्मलाई गोरखापत्रले एक सय २१ वर्षदेखि निरन्तरता दिँदै आएको छ । नयाँ वर्षमा गोरखापत्र अझ नयाँ साजसज्जा र कलेबरमा पाठकसामु आएको छ । आम पाठकको चाहना, रुचि र विषयवस्तुको प्रस्तुतिमा सूचनाप्रविधिले ल्याएको परिवर्तनलाई बुझेर नै गोरखापत्रले नयाँ वर्षमा नयाँ अध्याय आरम्भ गरेको हो । रुसले युक्रेनविरुद्धको अमानवीय आक्रमणपछि विश्वले झेल्न थालेको महँगी र असुविधा प्रकाशन संस्थाका रूपमा गोरखापत्रले समेत झेल्दै छ । समस्याहरूलाई ठीक ढङ्गले सामना गर्दै तिनलाई अवसरमा बदल्न गोरखापत्र प्रतिबद्ध छ । नयाँ वर्ष २०७९ को यस पावन अवसरमा समस्त ग्राहक, पाठक, विज्ञापनदाता तथा शुभेच्छुक सम्पूर्णमा गोरखापत्र दैनिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।