• २२ मङ्सिर २०८२, सोमबार

मधु जातको काँक्रोको सफल अनुसन्धान

blog

नवलपुरको हुप्सेकोटका किसान थमन रजालीले अनुषन्धानका लागि लगाउनुभएको मधु जातको काँक्रो खेती । तस्बिरः ज्ञानु पंगेनी

ज्ञानु पंगेनी 

मध्यविन्दु, मङ्ंसिर २२ गते । नेपाली कृषि वैज्ञानिकहरूले उत्पादन गरेको मधु जातको काँक्रोको अनुसन्धान परीक्षण नवलपुरमा सफल भएको छ । 

नेपाली वर्णशङ्कर (हाइब्रिड) मधु जातको काँक्रोको अनुसन्धान परीक्षण राम्रो पाइएको हो । नवलपुरको हुप्सेकोटका तीन जना किसानले परीक्षणको रुपमा मधु जातको काँक्रो खेती गर्नुभएको थियो । जसको प्रतिफल निकै राम्रो पाइएको किसानहरूको भनाइ छ । 

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरमार्फत बीउ प्राप्त गरी हुप्सेकोटका तीन जना किसानहरूले काँक्रो लगाउनुभएको थियो । 

असोज दोश्रो साता लगाएको काँक्रोले एक महिनामै उत्पादन दिएको कृषक थमन रजालीले बताउनुभयो । उहाँले १५५ वटा बिरुवा लगाउनुभएको थियो । ‘नेपाली वैज्ञानिकहरूले पनि निकै राम्रो बीउहरू उत्पादन गर्नुहुन्छ भन्ने कुराको उदाहरण हो मधु जाको  काँक्रो । हाम्रो नेपाली उत्पादनको राम्रोसँग प्रचार प्रसार हुन सकेको छैन’ रजालीले भन्नुभयो ।

उहाँका अनुसार  जिल्लामा पहिलो पटक तीनजना किसानले परीक्षणका रुपमा दश–दश ग्राम गरी कूल ३० ग्राम बीउ लगाएका थिए । सबैको निकै राम्रो भएको छ । बागवानी अनुसन्धान केन्द्र पोखरा मालेपाटनमा तालिम लिन गएका बेलामा त्यहाँका सरोज अधिकारीको टिमसँग यस बारेमा कुराकानी भएपछि रजालीले आफू काँक्रोको परीक्षण गर्न इच्छुक रहेको बताउनुभएको थियो । 

त्यसैआधारमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ नवलपुरमार्फत उहाँले बीउ प्राप्त गर्नुभएको थियो । ‘यहाँको हावापानीका लागि यो  काँक्रो निकै उपयुक्त रहेको मैले पाएँ, छिटो फल दिने, पोथी फूल धेरै लाग्ने, जसले उत्पादन वृद्धि हुने र रोग किरासँग लड्न सक्ने क्षमता पनि बढी रहेको पाइयो, कलर र साइज पनि राम्रो, सबै कुराले उत्तम पाएको छु’ रजालीले भन्नुभयो । 

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले अनुसन्धानका लागि लगाइएको मधु जातको  काँक्रो हुप्सेकोटमा निकै राम्रो भएको बताउनुभयो । 

नेपाल कृषि अनुसन्धान परिषदले तयार पारेको मधु जातको काँक्रो अनुसन्धानका लागि इच्छुक तीन जना किसान थमन रजाली, ग्यामबहादुर रजाली र रविन्द्र रजालीले किसानलाई बीउ प्रदान गरिएको उहाँले बताउनुभयो ।