• २ वैशाख २०८३, बुधबार

बोडेमा सुजनले चौथो पटक जिब्रो छेडेर जोगाउनुभयो परम्परा

blog

चौथो पटक जिब्रो छेड्नु हुँदै सुजन बाघ श्रेष्ठ। तस्बिर : सुजन गुरुङ

भक्तपुर, वैशाख २ गते । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा ऐतिहासिक एवं प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बिहीबार उत्साहका साथ मनाइएको छ । नयाँ वर्षको अवसरमा मनाइने बिस्केट जात्राको मुख्य आकर्षणका रूपमा रहेको यस जात्रामा यस वर्ष स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर पुर्ख्यौली परम्परालाई निरन्तरता दिनुभएको हो ।

चैत मसान्तदेखि सुरु हुने बिस्केट जात्राको अभिन्न अङ्ग मानिने यो जात्रा अवलोकनका लागि हजारौँको सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । जात्राको क्रममा श्रेष्ठले करिब १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको हो । जिब्रो छेड्नुअघि उहाँले स्थानीय विभिन्न देवीदेवताको पूजा–अर्चना गर्नुभएको थियो ।

जिब्रो छेडिसकेपछि उहाँले काँधमा झण्डै ४० किलो तौलको ‘महाद्वीप’ बोकेर बोडे नगरको विभिन्न भागको परिक्रमा गर्नुभएको थियो । यो जात्राको आफ्नै विशिष्ट ऐतिहासिक र धार्मिक महत्त्व रहेको छ ।

धार्मिक पृष्ठभूमि र विश्वास किंवदन्ती अनुसार प्राचीन कालमा बोडेमा दुःख दिने नीलवाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गराइएको सम्झनामा यो जात्रा मनाउन थालिएको विश्वास गरिन्छ । जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालिन्छ र सो प्वालमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ । यसरी माटो लगाउँदा घाउ चाँडो निको हुने र रगतसमेत नबग्ने जनविश्वास रहिआएको छ ।


परम्परा अनुसार श्रेष्ठ परिवारले नै यो जात्रालाई मुख्य रूपमा धान्दै आएका छन् । यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक र काकाले पनि यो जात्रामा सहभागी भएर परम्परा जोगाउनुभएको थियो ।